कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर साना किसान सहकारी संस्थाको आठौँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको केन्द्रिय सहकारी बोर्डका केन्द्रिय सदस्य देब बहादुर केसीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि केसीले हिजो किसानहरुले निर्यात गर्ने गरेका वस्तुहरु आज बाहिरबाट आयत गर्नुपर्ने समस्या आएको हुँदा साना किसानका सहकारीका शेयर सदस्यहरुले उत्पादन गरेका वस्तुहरु बजार आउनुपर्ने बताए । त्यस्तै उनले कृषिमा आधुनिकीरण गरी खाडी मुलकमा जाने युवाहरुलाई स्वदेशमै राज्यले रोजगारीको सृजना गनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीको ऋणबाट स्वदेशमै रोजगार गर्न सकिने बताउँदै सहकारीबाट लिएको ऋण उत्पादनमुलक कार्यमा लगानी गर्नुपर्ने बताए । साथै उनले बाँके जिल्लालाई सहकारीमय बनाउनु पर्ने बताए । कार्यक्रममा सहकारीकी अध्यक्ष जानकी पुनले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै अन्तर संस्थानका भ्रमण, अनिवार्य पशु बिमा, तरकारीमा आत्मनिर्भर बनाउने, सुत्केरी पोषण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने बताइन् ।
यस्तै सभामा समुह नं.२० लाई उत्कृष्ट समुहका रुपमा सम्मान गरिएको थियो । जेष्ठनागरिक विष्णुमाया गौतम, जागेश्वर चापागाईलाई सम्मान गरिएको थियो भने इजरायलमा गएर कृषि सम्बन्धी सिप सिकेर नेपालमा आइ कृषि व्यवसाय सञ्चालन गरिरहेका सुनिल चौधरी र शिव लम्सालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष जानकी पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका ५ नं. प्रदेश सदस्य देव बहादुर वली साना किसान कृषि सहकारी संस्था बाँकेकी अध्यक्ष एकता शाह, साना किसान कृषि सहकारी संस्थाका अभियन्ता हरिश चन्द्र केसी, बाँके जिल्लामा रहेका साना किसान कृषी सहकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक बालिका शर्माले गरेकी थिइन् ।