8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

जनउत्तरदायी बन्न जनप्रतिनिधिलाई आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५  

कोहलपुर/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिहरुलाई जनाताप्रति उतरदायी बन्न आग्रह गरेका छन् । शुक्रबार नेकपा कोहलपुरद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरुले यस्तो आग्रह गरेका हुन् ।

राज्यमा तीन तहको सरकार सञ्चालन भएयता जनताका अपेक्षामा समेत उल्लेख्य बृद्धि भएको बताउँदै सहभागीहरुले जनप्रेमी योजनाहरु लागु गर्नुपर्नेमा जोड दिएका थिए । निर्वाचनताका जनतासँग गरिएका प्रतिवद्धताहरुलाई व्यवहारमा कार्यान्वयन पक्षमा ल्याउन आवश्यक रहेको बताउँदै सहभागीहरुले भौगोलिक बनावट अनुसार बजेटको समान वितरण हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरवासीको अपेक्षा अनुसार काम गर्न नसकिएको स्वीकार गरे । उनले नगरवासीका अपेक्षाहरुलाई सम्बोधन गर्ने हरसम्भव प्रयास गरिएको भएपनि शतप्रतिशत सम्भव रहने अवस्था नरहेको भन्दै नगरसरकारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

यस्तै ५ नं. प्रदेश भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री आरती पौडेलले प्रदेश सरकारले एक वर्ष निति निर्माणमै खर्च गर्नुपर्ने अवस्था रहेको जिकिर गरिन् । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भएकाले निति निर्माणमा केही समय लागेको जिकिर गर्दै मन्त्री पौडेलले आफु मातहतको मन्त्रालयले उल्लेखनिय कार्य सम्पादन गरिरहेको दाबी गरिन् । प्रदेश राजधानी अनेत्रै गएसँगै बाँकेबाट महत्वपूर्ण कार्यालयहरु बहिरिने क्रम बढेपनि आफु मातहतका ११ सरकारी कार्यालयहरु बाँकेमै सुरक्षित गर्न सफल भएको मन्त्री पौडेलले स्पष्ट पारिन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकले सबैका भावनाहरुलाई समेट्दै अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । आफ्नो अथक प्रयासबाट बाँकेको राप्तीपारी क्षेत्रमा विद्युतिकरण सम्भव भएको बताउँदै सांसद अथकले विकास र समृद्धिका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५     8:50:49 AM  |