नेपालगञ्ज/ विद्यालयमा हुने हिंसालाई निरुत्साहित गर्न सरोकारवालाहरु सजक बन्नुपर्ने बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शिक्षाको ज्योति प्रदान गर्ने पवित्र स्थल विद्यालय जस्तो ठाउँमा कुनै पनि प्रकारको हिंसाले शिक्षा आर्जनमा अवरोध पु¥याउने हुँदा सरोकारवालाहरुले यसलाई दृष्टिगत गर्दै निरुत्साहित गर्नुपर्ने उनीहरुले बताएका हुन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय नटनपुरमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् । शारीरिक दण्ड, सजाय, यौनजन्य र हेपाइजन्य व्यवहारले बालबालिकामा पार्ने नकारात्मक असरका कारण बीचमै पढाई छाड्ने, विद्यालय जान नमान्ने, विद्यालय गएपनि कसैसँग बोल्न नमान्ने जस्ता समस्याहरु निम्तिने गरेको सहभागीहरुको निश्कर्ष थियो ।
यस्ता असरबारे सबैले जान्नुपर्ने र सरोकारवालाहरुको आचारसंहिता निर्माण सम्बन्धी आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले विद्यालयस्तरमा हिंसाजन्य गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए । यस्ता कुरालाई विद्यालय सरोकारवालाले विशेष महत्व नदिने कारणले विद्यार्थीमा विभिन्न समस्या निम्तिने गरेको भन्दै रेग्मीले अबको बदलिँदो परिवेशसंगै यस्ता कुरा अन्त्यका लागि सबैलाई सक्रिय हुन आग्रह गरे ।
वडा नं. २० का अध्यक्ष कृष्ण कार्कीले स्थानीय तह भइसकेपछि सरकारले यस्ता कुराहरुबारे विभिन्न नीति नियमसमेत बनाइरहेकाले यस्ता समस्या आफै अन्त्य गर्दै जानुपर्ने बताए । प्लान इण्टरनेशनल नेपालको सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक विकास मञ्च (स्याक नेपाल) बाँकेले आयोजना गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ वर्मा, प्रधानध्यापक खेमलाल वर्मा, स्याक नेपालकी कार्यक्रम अधिकृत कल्पना अधिकारीलगायतले धारणा राखेको सुपरभाइजर रज्जब अलि बागवानले बताए ।