29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बजारमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

सुदीप अधिकारी
प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५  

बर्दिया/  जिल्लाका विभिन्न बजारहरुमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती पाइएको छ । केही दिन यता जिल्लाको भुरिगाउँ, बासगढी, ताराताललगाएतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न पसलमा म्याद ग्रुजेका अखाद्य बस्तु रहेको फेला परेको हो । बजारमा तेल, विस्कुट, भुजा, दालमोट, मसला, आलु चिप्स, पानी, सुर्ती जन्य पदार्थ, पेय पदार्थलगाएतका म्याद गुज्रेका सामाग्री छ्याप्छ्याप्ती पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीले म्याद गुज्रेका सामानहरु बरामद गरेको छ । बजारमा अखाद्य बस्तु बिक्रि वितरण भइरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको हो । चाडबाडका बेला बढि मात्रामा खाद्य सामाग्री र पेय पदार्थ बिक्रि हुने भएकाले यसैको मौका छोपेर व्यापारीले म्याद गुज्रेका सामान बिक्री गरेर उपभोक्तालाई ठग्ने गरेको प्रशासनको ठहर छ । अखाद्य बस्तु बिक्रि वितरणलाई नियन्त्रण गर्न अनुगमन टोली निकै सक्रिय भएर लागेको प्रशासनले जनाएको छ ।

आइतबार जिल्लाको भुरिगाउँ बजारमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बाँके र ठाकुरबाबा नगरपालिकाको टोलीले संयुत्तरुपमा बजार अनुगमन गर्यो । अनुगमनका क्रममा भुरिगाउँ बजारका विभिन्न किराना पसलहरुबाट करिव २ लाख मूल्य बराबरका म्याद नाघेका सामाग्री अनुगमन टोलीले बरामद गरेको छ ।

टोलीले किराना पसल, मिठाइ पसल, दुग्घ डेरी र होटेल र पेय पदार्थ बिक्री पसलमा अनुगमन गरेको थियो । सबै भन्दा बढी किराना पसलमा म्याद गुज्रेका सामान फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । ‘ म्याद नाघेका सबै भन्दा बढी सामाग्री किराना पसलमा फेला पर्यो । म्याद गुज्रेका सामाग्री बरामद गरेर प्रहरीको जिम्मा लगाएका छौ, प्रशासकिय अधिकृत सुवेदीले भने ।

म्याद गुज्रेका बढी सामान फेला परेका पसलेलाई कारवाहीको प्रकृया अघि बढाउनका लागि सामाग्री नष्ट नगरि प्रहरी प्रशासनलाई जिम्मा लगाइएको अधिकृत सुवेदीले बताए । अनुगमनका क्रममा सबै भन्दा बढी म्याद गुज्रेका सामान फेला परेको सुभाष जनरल स्टोरको गोदाममा अनुगमन टोलीले शिल गरिएको जनाएको छ ।

पटकपटक चेतावनी दिँदा पनि अटेर गरेर म्याद गुज्रेका सामान विक्रि गर्ने गरेको पाइएकोले सुभाष जनरल स्टोरको गोदाममा शिल गरिएको प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताए । उक्त पसलका संचालक विरुद्ध कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही गरिने उनले बताए ।

टोलीले बजारमा म्याद गुज्रेका फेन्टा, कोकाकोलालगाएतका पेय पदार्थ पनि भारी मात्रामा बरामद गरेको छ । म्याद गुज्रेका पेय पदार्थ बिक्रि गर्ने पसलेहरुलाई पहिलो पटक चेतावनी दिइएको र अर्को पटक पुनः फेला परे कारवाही अनुगमन टोलीले बतायो । मिठाइ पसलेहरुलाई मिठाईमा रंग प्रयोग नगर्न अनुगमनले टोलीले अनुरोध गरेको छ । कुनै पनि सामान खरिद गर्दा त्यसको म्याद हेरर मात्र खरिद गर्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रशासनले बजार अनुगमन कार्यलाई तिव्रता दिएपछि उपभोक्ताले खुशी भएका छन् । महिनामा कम्तीमा दुई पटक बजार अनुगमन गरिनु पर्ने उपभोक्ताहरु बताउँछन् । अनुगमन कार्यलाई निरन्तरता दिइनु पर्ने उपभोक्ताको माग छ । ‘ वर्षमा एक दुई पटक मात्र देखावटी जस्तो बजार अनुगमन गरेर मात्र हुदैन ।

यसलाई प्रभावकारी बनाउन बजार अनुगमन निरन्तर हुनु पर्छ । उपभोक्ता पनि सजग हुनु पर्छ,’ भुरिगाउँका उपभोक्ता अनिल पौडले भने । बजारमा सामग्रीको कृतिम अभाव गर्ने, मिसावट गर्ने र अखाद्य बस्तु बिक्रि गरि उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि कारवाही हुनु पर्ने भुरिगाउँ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र पंगेनी बताउँछन् ।

ठाकुरबाबा नगरपालिका उपप्रमुख कृष्णा थारुले नगरस्तरमा कार्यविधी तयार गरेर बजार अनुगमन कार्यलाई प्रभावकारी बनाइने बताइन् । यसैगरि प्रशासकिय अधिकृत अर्जुन सुवेदीले पनि कालोबजारी, मिसावट गर्ने र अखाद्य बस्तु विक्रि वितरण रोक्न बजार अनुगमनलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।

उनले भने, ‘ कालोबजारी रोक्न प्रशासनसँगै आम उपभोक्ता पनि सजग र सचेत हुन पर्छ । अनि मात्र उपभोक्ता ठगी गर्नेहरु निरुत्साहित हुनेछन् ।’ कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५     8:05:29 AM  |