3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

दोस्रो वार्षिक उत्सव तथा सधारण सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ११, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका—१४ हवलदापुर स्थित समाज सेवा संस्था नेपालको दोस्रो वार्षिक उत्सव तथा साधारणसभा शनिबार सम्पन्न भएको छ ।

वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले केक काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले समाज सेवा संस्था समाजमा रहेका विंसगति विरुद्ध काम गर्ने संस्थाको रुपमा राम्रो संस्था स्थापित भएको भन्दै प्रशंसा समेत गरे । साथै उनले आगामी दिनहरुमा संस्थालाई आवश्यक पर्ने सहयोग गर्ने समेत बताए ।

संस्थाले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा मानव बेचविखन विरुद्ध सक्रिय भई उदाहरणीय काम गरेको भन्दै माईती नेपाल नेपालगन्जका क्षेत्रिय संयोजक केशव कोइरालालाई सम्मान पत्र सहित सम्मान गरेको छ ।

त्यस्तै संस्थाले सक्रिय सदस्य पुस्तिका शर्मालाई समेत सम्मान गरेको छ । वार्षिक उत्सवकै अवसरमा समाज सेवा संस्था नेपाल वडा नं. १४ का ईकाई समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अथितिबाट शपथ ग्रहण समेत गराइएको थियो । वार्षिक उत्सवको अवसरमा समाजसेवा संस्थाका कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोपी प्रसाद खनाल वडा नं. २ का वडाध्यक्ष कर्ण सिंह बुढा, वडा नं. १० का अध्यक्ष निम बहादुर चलाउने, वडा नं.१३ का अध्यक्ष ओम प्रकाश वली, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद सापकोटा, कोहलपुर नगरकार्यपालिका सदस्य भिम बहादुर नेपाली, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका वेदराज लम्साल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक ११, २०७५     8:37:49 AM  |