8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कैदीबन्दी अर्कै जिल्ला पठाउनुपर्ने बाध्यता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५  

रुकुम पूर्व/   गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहाँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ ।

जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई पूर्व र पश्चिम ओहोरदोहोर गराउन कठिनाइ हुने गरेको छ ।

“बाटो असहज छ, थुप्रै चुनौतीका बीच कैदीबन्दीलाई रुकुम पश्चिम पठाउनु परिरहेको छ,” तिम्सिनाले भने । आफ्नै जिल्लाका कैदीबन्दी राख्न गाह्रो भइरहेको बेला अर्को जिल्लाबाट कैदी ल्याएर राख्दा थप समस्या भएको रुकुम पश्चिम कारागारका जेलर लोकबहादुर घर्तीले बताए ।

कारागारमा कैदीको व्यवस्थापनका साथै अदालतमा उपस्थित गराउन निकै समस्या भएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कारागार स्थापनाका लागि गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा पटक पटक ताकेता गर्दैआएको बताए ।

उनले भने, “तत्काल कारागार स्थापना गर्न नसके अरु समस्या आउनुका साथै व्यवस्थापनमा थप समस्या हुन्छ ।” कारागारका लागि संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन सिस्ने गाउँपालिकासँग छलफल भइरहेको छ ।-रासस 

प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५     8:14:12 AM  |