झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय खुसी



इन्द्र बहादुर बुढाथोकी: सल्यान/  सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ४ कालिखोला र सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ कारागाउ जोडने झोलुंगे पुल निर्माण भए पछि स्थानीय खुसी बनेका छन् ।

१ सय ९४ मिटर लम्बाई भएको ६३ मेट्रिकटन क्षमता भएको पुलको मना मालिका जेभिले १ करोड ५ लाख लागतमा काम सम्पन्न गरेको हो । उक्त ठाउँमा पुल बने पछि काठको डुङ्गा विस्थापित भएको छ ।

पुल नहुँदा त्यस ठाउका स्थानीय ढुङ्गाबाट भेरीमा जोखिमपूर्ण तरिकाले आवतजावत गर्ने गरेका थिए । सो ठाउँको झोलुंङ्गे पुल छिन्चु जाजरकोट सडकबाट नजिकै पर्ने भएकोले बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का स्थानीयलाई सहज हुने भन्दै स्थानीय विरेन्द्र बस्नेतले खुसी व्यक्त गरे ।

पुल बनेपछि अब त्यहाँबाट पढ्न जाने बालबालिकाहरुलाई विद्यालय जान सहज हुने भएको छ । पुल नहुँदा वर्षाको समयमा विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुने गरेको स्थानीयको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७५ भदौ १ गते शुक्रबार