कोहलपुर/ अवैद्य रूपमा नेपालगन्ज ल्याउँदै गरिएका ३ सय २० वटा भारतीय बोइलर कुखुरासहित मंगलबार ५ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले नेपालगन्ज उप–महानगरपालिका १० बाट अवैध भारतीय बोइलर कुखुरासहित ५ तस्करलाई पक्राउ गरेको हो ।
बाँके साइगाउँको खुल्ला सिमाबाट ९ वटा साइकलमा लुकाईछिपाई भारतीय बोइलर कुखुरा नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा ब्यूरोले मंगलबार बिहान नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट प्रहरीले कुखुरा बोक्ने ९ वटा साइकल समेत बरामद गरेको छ ।
ब्यूरोले आवश्यक कारबाहीका लागि तस्कर र कुखुरालाई पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाको जिम्मा लगाएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहाका पशु चिकित्सक रामसेवक त्रिपाठीका अनुसार नियन्त्रणमा लिइएका सबै कुखुरा प्रहरी प्रशासनको रोहवरमा मंगलबार नै नष्ट गरिएको छ ।
पक्राउ पर्ने तस्करहरुमा जानकारी गाउँपालिका १ बस्ने मो.रज्जा राई, रहिम रज्जा राई, ताज मोहम्मद, राहुल बर्मा र समसुद्विन राई रहेका छन् । अवैद्य रूपमा कुखुरा ल्याउँने काममा सक्रिय पाँच जनालाई केहीबेर नियन्त्रणमा लिएर कानुन अनुसारको कारवाही र जरिवाना गरि छोडिएको छ ।
पशु चिकित्सक रामसेवक त्रिपाठीका अनुसार कार्यालयले अवैद्य कुखुरा ओसारपसारमा सक्रिय पाँच जनालाई जनही १० हजारका दरले जरिमाना तिराएको छ भने आइन्दा यस्तो काम नगर्न सचेत समेत बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्