लागू औषध र गुण्डागर्दी नियन्त्रण पहिलो प्राथमिकता



नेपालगज/  बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषध बेचबिखन तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएर आएका पौडेलले आईतबार नेपालगन्जका पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममासडक दुर्घटना न्यूनीकरण समेत चुनौतीको विषय भएको बताएका हुन् ।

खुल्ला सिमा क्षेत्रका कारण लागूऔषध ओसार पसार तथा मानव बेचबिखनका निम्ति बाँके जोखिमयुक्त जिल्ला भएको बताउँदै पौडेलले ती विषयहरु पुर्णरुपमा निर्मुल पार्न नसके पनि हदैसम्म न्यूनीकरण आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रदेश प्रहरी कार्यालयले बनाएको कार्ययोजना अन्तर्गतलागू औषधको प्रयोग तथा बेचबिखनमा न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सरोकारवालाहरुसँगको समन्वयमा आफूले काम गर्ने पौडेलले बताए ।

एक अर्को प्रसङ्गमा एसपी पौडेलले प्रहरी जहिले पनि घटनास्थलमा ढिलो पुग्ने गरेको जनगुनासो आउने भएकाले अब बाँकेमा त्यस्तो अवस्था नरहने बताए ।

नेपालगन्ज उपमहानगर भित्र खबर पाएको १० मिनेट भित्र प्रहरी पुग्ने र उपमहानगर बाहिर पनि नजिकको प्रहरी युनिटबाट ५ देखि १० मिनेट भित्रमा प्रहरी पुगी सक्ने पौडेलले दाबी गरे ।

प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै एसपी पौडेलले प्रहरी सदैव जनताको सेवामा तयार रहने भएकाले सबैको साथ र सहयोगको आवश्यकता रहने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार