नेपालगन्ज/ नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको थियो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो ।
अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा दुई महिनाअघि पुनः म्याद थप गरिएको थियो ।
पटक पटक म्याद थप्दा समेत बसपार्क निर्माण हुन नसक्दा स्थानीयबासीहरु आक्रोसित बनेका छन । बसपार्कमा गाडी पार्किङ्ग र शौचालयको ब्यवस्थापन हुन नसक्दा झन समस्या भएको स्थानीयको भनाई छ ।
ठेकेदार कम्पनीको लापर्बाहीका कारण नेपालगञ्ज बसपार्कमा यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण कार्यले गति लिन नसक्दा बसपार्क अलपत्र अबस्थामा छ । जसका कारण दिनहुजसो बसपार्कमा गाडी फस्ने सडक जाम हुने जस्ता समस्याहरु आईरहेको चालकहरु बताउछन ।
निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको भेरी अञ्चल यातायात ब्यवसायी समितिका बुकिङ्ग ईन्चार्ज चन्द्र बहादुर थापाले जानकारी गराए ।
निर्माण कम्पनीले मुख्यद्वार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरपालिकाले जनाएको छ । बसपार्कको निर्माणको क्रममा जथाभावी माटो थुपारिँदा बसपार्क क्षेत्रको व्यापार ब्यवसायमा समेत प्रभाव परेको छ ।
निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी रु २० करोड लागत अनुमानमा नेपालगन्ज उपमहानगरपालीका संग ठेक्का लिएको थियो । वैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको छ ।
तर यो समयमा पनि निर्माण सम्पन्न हुने छाँट भने देखिँदैन । निर्माण शुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको केही दिनमा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून रहेको छ ।
तर नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर राणाले निर्माण कम्पनी तथा ठेकेदारलाई कारबाही गरेर अर्को ठेकेदार खोज्दा झन धेरै समस्या हुने भएकोले समय थप गरेर अथवा कुनै पनि अवस्था सोही ठेकेदारलाई हात जोडनुको आफुहरुसंग विकल्प नभएको बताए ।
साढे चार विगाह क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्न थालिएको हो । तर निर्माण कार्य कहिले पुरा हुने भन्नेमा भने अन्यौल छाएको छ ।









प्रतिक्रिया दिनुहोस्