1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

कोहलपुर नगरपालिकाद्वारा उत्पादनमूलक कृषिमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन १६, २०७५  

कोहलपुर/  कोहलपुर नगरपालिकाले आर्थिक विकासका लागि कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिने नीति लिएको छ । निर्वाहमुखी कृषि गरिरहेकालाई व्यावसायिक बनाउन र वेरोजगारी हटाउन उत्पादनमा जोड दिएको हो ।

त्यसका लागि यस वर्ष कृषिमा ६३ लाख ५० हजार र पशुपालनमा ७४ लाख ३५ हजार वजेट विनियोजन गरेको छ । कृषकहरुका लागि तालिम तथा उन्नत विउविजन खरिद गरिने नगरपालिकाले जनाएको छ ।

विभिन्न वडामा फरक कृषि उपजको पकेट क्षेत्र तोकी तालिम दिइने छ । नगरपालिकाका वडा नं.२,३,५ र ६ लाई तरकारी खेतीको पकेट तोकिएको छ । त्यहाँका कृषकहरुलाई तरकारी खेतीसम्वन्धी तालिम दिइने छ ।

बाख्रापालनका लागि वडा नं.७, ८, १० र १३ लाई पकेट क्षेत्र तोकिएको छ । त्यसको व्यवस्थापनका लागि २५ लाख वजेट विनियोजन गरेको छ । कागती खेतीका लागि वडा नं.१३ लाई रोजिएको छ ।

कृषकलाई तालिम र विउका लागि नगरपालिकाले ५ लाख वजेट विनियोजन गरेको छ । बेरोजगारी हटाउन र कृषिलाई व्यावसायिक बनाउन यी कार्यक्रम ल्याइएको नगर उपप्रमुख सन्जु कुममारी चौधरीले बताउनु भयो । साथै निर्वाहमुखी कृषि हटाउन सकेमात्र कृषकको आयस्तर उकास्न सकिने उहाँको भनाई छ ।

प्रकाशित मितिः बुधबार, साउन १६, २०७५     10:41:57 AM  |