29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

काँग्रेसद्वारा बाँकेसहित देशभर सरकारविरुद्ध प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १५, २०७५  

कोहलपुर/  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवार बाँकेसहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले बाँकेसहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

वर्तमान सरकारले बढाएको कर तथा मुल्यबृद्धि र विगतको काँग्रेस नेतृत्वको सरकारले गरेका नीतिगत निर्णय खारेजीको बिरोधमा कांँग्रेस बाँकेले नेपालगन्ज बजारको परिक्रमासहित विरोध प्रर्दशन गरेको हो ।

केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रर्दशन गरिएको कांग्रेस बाँकेकी सभापति किरण कोईरालाले बताइन् । उनले वर्तमान सरकारको ज्यादतीपूर्ण कार्य तथा अधिनायकवादी सोचको विरोधमा आफुहरु आन्दोलनमा उत्रिनु परेको बताईन ।

नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको विरोध ¥याली विपीचोक, त्रिभुवनचोक, त्रिवेणी मोड, धम्बोझी चोक हुँदै पुनः विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो कानुनी शासनको खिल्ली उडाएको आरोप लगाएका थिए ।

पार्टीका सचिव कफिदेव शर्माले सञ्चालन गरेको सो कोणसभामा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईराला, प्रदेस सांसद सुरेन्द्र हमाल, पूर्व सांसद मैकुलाल बाल्मिकी, तरुणदल पुर्व केन्द्रीय सदस्य सुदिपनरसिंह राणा, नेवि संघ बाँकेका अध्यक्ष पुर्ण आचार्य, नेपाली काँग्रेस क्षेत्रीय सभापति नक्की खाँ लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, साउन १५, २०७५     8:00:58 PM  |