आठौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र



बर्दिया/  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बर्दियाका विभिन्न खेलकुद मैदान तथा निमार्णधिन कभर्ड हल निरिक्षण गरेका छन् ।

बिहीबार मन्त्री विश्वकर्माले जिल्लाको बाँसगढीमा निमार्णधिन कबड्डी ऐकेडमी, भुरिगाउँमा निमार्ण भइरहेको खोखो कर्भड हल, ठाकुरद्धाराकोे खेल मैदान र सदरमुकाम गुलरिया रहेको खेलमैदानका साथै निमार्णाधिन कर्भड हल निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा मन्त्री विश्वकर्माले निमार्णाधिन कर्भड हलहरु निमाण कार्य तीब्र गतीले अघि बढाउन निर्देशन दिए । मन्त्री विश्वकर्माले भने, ‘ समय निकै कम छ ।

निमार्ण कार्यलाई तीब्र गतीमा अघि बढाउनुहोस् । आठौ राष्ट्रिय खेलकुदका विभिन्न खेलहरु यिनै कर्भड हलमा आयोजना हुनेछन् ।’

कर्भड हल निमार्णका क्रममा कुनै समस्या आए तत्काल केन्द्रमा जानकारी गराउन मन्त्री विश्वकर्माले आग्रह गरे । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र गतीमा अघि बढेको सन्देश दिन आफु खेलमैदान निरिक्षणमा निस्केको उनले बताए ।

मंसिर २१ देखि २८ गतेसम्म बाँकेको नेपालगंजमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देहीमा संचालन हुने छन् ।

अनुगमनका क्रममा मन्त्री विश्वकर्माले प्रतियोगिताको तयारी तीव्र गतीमा भइरहेको जानकारी दिए । उनले भने, ‘ केन्द्रमा तयारी तीव्र गतीमा अघि बढेको छ । जिल्ला जिल्लामा पनि काम अघि बढेको छ । यही गतीमा काम भए निर्धारित समयमै प्रतियोगिता आयोजना गर्न सफल हुनेछौ ।’

बर्दियामा खेलकुद प्रतियोगिताका ६ वटा विधाहरु संचालन हुने जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए । जिल्लाको बासगढी, भुरिगाउँ, ठाकुरद्धारा र गुलरियामा प्रतियोगिताका विभिन्न खेल विधाहरु संचालन हुने छन् ।

अनुगमनका क्रममा मन्त्री विश्वकर्माले खोखो खेलका अन्तराष्ट्रिय पदक विजेता खेलाडी गोपीप्रसाद तिमिल्सेना, करिष्मा बोगटी, सिर्जना शाही र ललिता थारुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैगरि खोखो खेलका राष्ट्रिय खेलाडी हरी वली, चन्द्रकान्त भण्डारी र पार्वती विकलाई पनि मन्त्री विश्वकर्माले सम्मान गरेका थिए । उनले गाउँगाउँबाट राष्ट्रियस्तरका खेलाडी तयार हुनुमा आफुलाई गर्व लागेको भन्दै खेलाडीहरुको प्रशंशा गरे ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार