बर्दिया/ एक साता अघि सुनमा मिसावट गरि कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ परे । पेट्रोलियम पदार्थमा कालोबजारी गरेको पाइएपछि खैरापुरस्थित एक पेट्राल पम्पलाई प्रशासनले शिल ग¥यो ।
केही साताअघि जिल्लाको भुरिगाउँ, बाँसगढी, ताराताल लगाएतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न किराना पसलमा म्याद गुज्रेका अखाद्य वस्तु फेला परेपछि ति वस्तु प्रशासनले नष्ट गरेको थियो ।
बजारमा कालोबजारी मौलाउँदै गएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । बजारमा नुनदेखि सुनसम्म कालोबजारी भइरहेको प्रशासनको ठहर छ ।
कालोबजारीलाई नियन्त्रण गर्न अनुगमन टोली निकै सक्रिय भएर लागेको प्रशासनले जनाएको छ । सोमबार पुनः भुरिगाउँ बजारमा जिल्ला प्रशासन र नापतौल कार्यालयको टोलीले संयुत्तरुपमा बजार अनुगमन गरेको थियो ।
अनुगमन टोलीले भुरिगाउँ बजारमा रहेको २ वटा पेट्रोल पम्प अनुगमन गर्यो । दुबै पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको परिमाण जाँच गर्दा परिमाण ठिक रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।
अनुगमन टोलीले भुरिगाउँ बजारमा मनकामना ग्यास, राप्ती ग्यास र रेडिएन्ट ग्यास सिलेण्डरको तौल जाँच गरेको थियो । यसैगरि टोलीले विभिन्न हार्डवयर पसलमा नापतौलका लागि प्रयोग हुने मेसिन जाँच गरेको थियो ।
जाँचका क्रममा केही पसलमा नापतौल कार्यालयमा दर्ता तथा नविकरण नभएको पाइएकाले त्यस्ता मेसिनलाई तीन दिन भित्र दर्ता तथा नविकरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । बजार अनुगमन टोलीले निमार्णका लागि प्रयोग हुने विभिन्न उद्योगका सिमेन्टको तौल जाँच गरेको थियो ।
अनुगमन टोलीले एक साता अघि गुलरिया, बासगढी र राजापुरका सुन पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा संकलन गरिएको सुन गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा सुनमा ८ प्रतिशत सम्म अन्य धातु मिसावट गरेर विक्री गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरि कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासनले बजार अनुगमन कार्यलाई तिव्रता दिएपछि आम उपभोक्ताले खुशी भएका छन् । महिनामा कम्तीमा दुई पटक बजार अनुगमन भए कालोबजारी नियन्त्रण हुन सक्ने उपभोक्ताहरु भनाई छ । अनुगमन कार्यलाई निरन्तरता दिइनु पर्ने उपभोक्ताको माग छ । ‘ वर्षमा एक दुई पटक मात्र देखावटी जस्तो बजार अनुगमन गरेर मात्र हुदैन । यसलाई प्रभावकारी बनाउन बजार अनुगमन निरन्तर हुनु पर्छ । उपभोक्ता पनि सजग हुनु पर्छ,’ भुरिगाउँका उपभोक्ता पुष्कर लामिछानेले भने । बजारमा सामग्रीको कृत्रिम अभाव गर्ने, मिसावट गर्ने र अखाद्य वस्तु विक्रि गरि उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि कारवाही हुनु पर्ने स्थानिय उपभोक्ता प्रदीप भण्डारी बताउँछन् ।
कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताए । उनले भने, ‘ कालोबजारी रोक्न प्रशासनसँगै आम उपभोक्ता पनि सजग र सचेत हुन पर्छ । अनि मात्र उपभोक्ता ठगी गर्नेहरु निरुत्साहित हुनेछन् ।’ कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्