कोहलपुर/ कोहलपुर नगरपालिका भित्रका विभिन्न वडाका १७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई मंलबार ह्वीलचियर वितरण गरिएको छ । अपाङ नव जीवन केन्द्र कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिका र राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा उनीहरुलाई ह्वीलचियर वितरण गरिएको हो ।
ह्वीलचियर वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कुनै पनि व्यक्ति शारीरिक रुपमा अपाङ्ग भएपनि सपाङ्गग सरह काम गर्न सक्ने बताए । आफ्नो मनोवल उच्च राखेर काम गरे जुन सुकै व्यक्ति पनि सफल हुने भन्दै उच्च मनोवलताका साथ अघि बढ्न सुझाव समेत दिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं.१ का अध्यक्ष गोपी खनालले अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि नगरपालिकाले आर्थिक सहयोग गरी अपाङ्ग नवजीवन केन्द्रको समन्वयमार्फत उनीहरुलाई ह्वीलचियर वितरण गरेकोमा धन्यवाद दिए । साथै अपाङ्गहरु पनि मेहनत र उच्च आत्मवलका साथ लगनशिल भएर लागे सपाङ्गसरह जीवन जिउँन सक्ने बताए ।
यस्तै कोहलपुुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिहरुका लागि सरकारले सहयोगका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
उनीहरुको जीवन सरल रुपमा जीवन यापन गर्नमा विशेष खालका सिपमूलक र आयआर्जन हुने खालका तालिम तथा सीपहरु दिनुपर्ने बताए । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मनिष श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण केही परिवर्तन भएपनि अझै पूर्णरुपमा परिवर्तन हुन नसकेको बताए । त्सका लािग सबैले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको पुस्तक समेत विमोचन गरिएको छ । पुस्तकको नगर प्रमुख रावतको विमोचन गरेको थिए ।
सो पुस्तकको तथ्याङ्कअनुसार कोहलपुर नगरपालिकाका सबै वडाहरुमा ४२९ जना पुरुष र ३६१ जना महिला गरी ७९० जना व्यक्तिहरु अपाङ्ग रहेका छन् । अपाङ्ग नवजीवन केन्द्र कोहलपुर केन्द्रका कोषाध्यक्ष दयाराम अधिकारीले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
कर्यक्रममा कोलपुर नगरपालिकाका वडा नं.१, २, ८, ९, ११, १२ र १३ का वडा अध्यक्ष, राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौका निर्देशक सुगम भट्टराई, कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वली, अपाङ्गग नवजीवन केन्द्र कोहलपुरका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम अपाङ्ग नवजीवन केन्द्र कोहलपुरकी अध्यक्ष विनिता शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।