6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

बाढिका कारण बाँकेमा चार जनाको ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १८, २०७५  

कोहलपुर/  आइतबारदेखि अविरल रुपमा परेको वर्षासँगै आएको बाढिका कारण बाँकेमा सामेबार चार जनाको ज्यान गएको छ । बाढिका कारण नालाहरुमा पानी बढेपछि बाँकेका विभिन्न स्थानमा गरी दुई नावालकसहित चार जनाएको ज्यान गएको हो ।

कोहलपुर नगरपालिका वडा नंं.४ गोहवामा नालामा डुबेर चार वर्षीय रन्जित पासिकको ज्यान गएको हो । घर नजिकै खेलिरहेको अवस्थामा स्थानीय नालामा डुबेर पासिकको ज्यान गएको कोहलपुर प्रहरीले जनाएको छ । बालक नालामा डुबेको खबर पाउन बित्तिकै प्रहरी टोली त्यसतर्फ गएको थियो ।

प्रहरी त्यहाँ पुग्दा बालकको मृत्यू भइसकेको र मृतक बालकको शव आवश्यक प्रक्रिया पछि पोष्टमार्टमका लागि नेपालगन्ज पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए । यस्तै घर नजिकैको नालामा नुहाउन गएका बैजनाथ गाँउपालिका–५ का लोकबहादुर सुनारको नालीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ३५ वर्षिय सुनारको घर नजिकैको नालामा शव भेटिएको थियो ।

त्यसैगरी वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा सोही गाउँपालिका–३ का ७२ वर्षीय तुलाबहादुर बुढाको पनि मृत्यु भएको छ । स्थानीय नाला तर्ने क्रममा बुढा खोलाले बगाएर वेपत्ता भएका थिए ।
घटनालगत्तै स्थानीय तथा प्रहरी प्रशासनले बुढाको खोजी सुरु गरेपनि ५ घण्टापछि मात्रै बैजनाथ–७ पलौतीपुरमा बुढाको शव फेला परेको ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

सोमबार नै डुडवा गाँउपालिका वडा नं.२ मा पोखरीमा डुवेर ४ वर्षीया रिमा कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीका कारण नेपालगन्ज–गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो ।

बाढीले एक मोटरसाइकल बगाएपनि स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका थिए । यसैबिच बाँके क्षेत्र नं. ३ का प्रदेश सांसद आईपी खरेलले बाढिबाट भएको धनजनको क्षतिका बारेमा स्थलगत अनुगमन गरेका छन् ।

सोमबार बिहानैदेखि सांसद खरेल आफ्नो निर्वाचन क्षेत्रको स्थलगत अवलोकनमा खटिएका थिए । खरेलले बाढिका कारण ज्यान गुमाएकाहरुको घरपरिवारलाई भेटेर सान्त्वना दिएका थिए । उनले पीडितहरुलाई उचित क्षतिपूर्ती दिलाउने प्रतिवद्धता समेत जनाए ।

जिल्ला दैविक प्रकोप उद्धार कोषबाट तत्काल जनही ११ लाख राहत रकम उपलब्ध गराउन पहल सुरु गरेको बताउँदै सांसद खरेलले प्रदेशस्तरबाट समेत उचित क्षतिपूर्ती उपलब्ध गराइने बताए । सासद खरेलसँगै पूर्व सिँचाइ राज्यमन्त्री दल बहादुर सुनार समेत अनुगमनमा गएका थिए ।

प्रकाशित मितिः सोमवार, असार १८, २०७५     8:45:00 PM  |