कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिकाका ८ वटै वडाका १ सय २४ जना विपन्न दलितहरुलाई बाख्रा वितरण गरिएको छ ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा बैजनाथ गाउँपालिका स्तरीय दलित संजालको आयोजनामा बाख्रा वितरण गरिएको आयआर्जन समितिका संयोजक दिल विश्वकर्माले जानकारी दिए ।
सञ्जालले गाउँपालिका भित्र रहेका विपन्न दलितहरुको पहिचान गरि १ सय २४ विपन्न दलितहरुलाई बाख्रा वितरण गरिएको बिश्वकर्माले बताए । सञ्जालले बाख्रा वितरणको अन्तिम दिन शनिबार गाउँपालिकाको वडा ६ सम्झना चोकमा २२ घरधुरी विपन्न दलितहरुलाई बाख्रा वितरण गरेको छ ।
बाख्रा वितरणका कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नं ६ का वडाध्यक्ष भद्र बहादुर बस्नेतले सानो सहयोग भएपनि राज्यले दिएको वस्तुलाई उपेक्षा गर्न नहुने बताए । साथै उनले विपन्न दलितलाई दिएको बाख्राबाट आयआर्जन गरे नगरे अनुगमन गरिने बताए । बैजनाथ पशुशाखा प्रमुख रत्न शाहीले बाख्रापालन व्यवसाय बारे सहजीकरण गरेका थिए ।
संजालकी कोषाध्यक्ष सम्झना परियारले करिब ८ लाखको लागतमा गाउँपालिका भित्रका १ सय २४ विपन्न दलितहरुलाई बाख्रा वितरण गरिसकिएको बताईन ।
संजालकी अध्यक्ष खगीसरा सुनारले आ.व.२०७४÷०७५को दलित लक्षित बजेट अनुसार गाउँपालिकाबाट प्राप्त भएको २५ लाख मध्ये ८ लाखमा ४१ घरलाई सिलाई मेसिन ८ लाखलागतमा ५३ घरलाई आरन समाग्री वितरण गरिएको ८ लाखको लागतमा बाख्रा वितरण गरिएको बताईन ।
साथै एक लाखको लागतमा दलित क्षमता विकासका कार्यक्रमका संचालन गरिएको उनको भनाई रहेको छ । साथै आगामी आर्थिक वर्षका लागि दलित संजालका लागि २८ लाख ३ हजार २ सय विनियोजन गरिएको छ । साथै ७० प्रतिशत वडाको आयआर्जनमा खर्च गरिने ३० प्रतिशत चेतनामुलक कार्यक्रममा खर्च गरिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्