कोहलपुर/ कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले सिपमूलक तालिमले महिलाहरुको सीपसँगै उनीहरुको अभिवृद्धि गरी आयआर्जनमा वृद्धि गराउने बताएका छन् ।
महिलाहरुको आय आर्जनका लागि सीप सिकाउने उद्देश्यले प्रगतिशिल महिला आमा समूह वडा नं.६ बुद्धचोकको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो तालिमको समापन शत्रमा बोल्दै मेयर रावतले यस्ता तालिमहरुले उनीहरुको आयआर्जनमा वृद्धि गराई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताएका हुन् ।
उनले विभिन्न संघ संस्था, घर, कार्यालहरुमा कुसन तथा गुडिया जस्ता हातले बनाइएका हस्तकलाका सामग्रीको माग अत्याधिक भएकोले त्यसको उत्पादनमा जोड दिनुपर्ने बताए । ती उत्पादन गरेका हस्तकलाका सामग्री व्यवस्थापन तथा बजारीकरणका लागि कोहलपुरमा कोशेली घर निर्माण गरिने बताए ।
त्यसका लागि नगरपालिकाको तेस्रो नगरसभाबाट बजेट पनि विनियोजन गरिएको जानकारी गराए । फुर्सदको समयलाई सदुपयोग गरी विभिन्न आयआर्जनमूलक काम गरेर आत्मनिर्भर बन्न महिला दिदी बहिनीहरुलाई उनले आग्रह समेत गरे ।
साथै नगरपालिकाले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गरिरहेको र आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने मेयर रावतले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेकपाका कोहलपुर नगर कमिटि सचिव खिल प्रसाद भुषालले तालिमका सहभागीहरुलाई तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिँदै सिकाइ सिकाइको लागि मात्र नभई केही गर्नको लागि भएको बताए ।
सीप सिकेर व्यवहारमा लागू नगरे सिक्नुको कुनै अर्थ नहुने बताए । यस्तै समाजसेवी तथा समूहका सल्लाहकार नारायाण पोख्रेलले सीप सिक्नु मात्र ठूलो कुरा नभएकोले सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताए । उनले सिकेको सीप छोटो समयमै बिसर्दै जाने भएकाले त्यसलाई दिर्घकालिन बनाउनका लागि व्यहारमा लागू गर्न सुझा दिए ।
तालिमका सहभागीहरुलाई प्रमुख अतिथि मेयर रावतसहित अन्य अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए । साथै कार्यक्रमको अन्त्यमा सम्पूर्ण अतिथिहरुलाई समूहकी अध्यक्ष ललिता चन्द रानाले मायाको चिनो स्वरुप एक÷एक वटा गुडिया प्रदान गरेकी थिइन् । कार्यक्रममा समूहकी निर्वतमान अध्यक्ष मणिसरा थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।
गत जेठ १३ गतेदेखि सञ्चालन गरिएको तालिम मंगलबार समूहकी अध्यक्ष ललिता चन्द रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रतिमा रानाले गरेकी थिइन् ।
प्रशिक्षक एलिसा रानाभाटले प्रशिक्षण दिएको सो तालिममा कोहलपुर नगरपालिका वडा नं.६ का २० जना महिलाहरुको सहभागिता रहेको थियो ।
उक्त समापन कार्यक्रममा कोहलपुर नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास समिति संयोजक डिल बहादुर परियार, कार्यपालिका सदस्य एवं सार्वजनिक सेवा क्षमता विकास समिति संयोजक कल्पना अधिकारी, वडा नम्बर ६ का वडा सदस्य फग्गु थारु, रझेना साना किसान कृषि सहकारी संस्थाकी अध्यक्षकी अध्यक्ष विना चालिसे, गोरखनाथ ट्रेनिङ्ग सेन्टरकी प्रवन्धक मधु खड्का, प्रगतिशिल महिला आमा समुहका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्