कर्णाली प्रदेशमा क्षेत्रीय विमानस्थल बनाउने सरकारको घोषणा



काठमाडौं/  सरकारले कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गर्नु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले भौगोलिक कठिनाई भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले त्यस अवसरमा एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो ।

उहाँले ३ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजना अनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले ३ वर्षभित्र सम्पदाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो ।

उहाँले सीमित स्रोत र साधनका कारण सोचे अनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गर्दै आगामी दिनमा सांसदहरुको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।-ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७५ असार १२ गते मंगलबार