बर्दिया/ बाँसगढीमा शिक्षक सेवा आयोग विशेष तयारी कक्षा सञ्चालन गरिएको छ । बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी एजुकेशनल ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको बिशेष तयारी कक्षाको नगर प्रमुख सालिकराम अधिकारीले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।
प्रावि, निमावि र मावि तहमा सामुदायिक विद्यालयको स्वीकृत स्थायी दरबन्दीमा सेवा प्रवेशका लागि बाँसगढीमा पनि विशेष तयारी कक्षा सञ्चालन भएकाले बाँसगढी, बारबर्दिया नगरपालिका र बढैयाताल गाँउपालिकाका शिक्षक सेवा आयोगका उमेद्धारहरुले राहत पाउने भएका छन् ।
बाँसगढी क्षेत्रमा नै विशेष सुविधा सहित योग्य, दक्ष अनुभवी तथा विषय विशेषज्ञबाट कक्षा सञ्चालन गरिने भएकाले सहभागीहरुलाई ठूलो अवसरको रुपमा लिन कार्यक्रममा बोल्ने वक्ताहरुले आग्रह गरेका छन् ।
वक्ताहरुले भने तयारी कक्षा एउटा मार्ग निर्देशन गर्ने बाटो मात्र हो तर आत्मा विश्वास, परिश्रम र निरन्तर लगाब भयो भने मात्र सफलता हासिल गर्न सकिन्छ ।
बाँसगढी एजुकेशनल ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक फणेन्द्र प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका युवराज कुवंरले गरेका थिए ।
बर्दिया जिल्लामा प्रावि तहमा खुल्ला ४२ र अन्य समावेशी गरी ७७ सिट र विकास क्षेत्र अनुसार मावि, निमावि समेत अन्य थुप्रै कोटाहरुमा शिक्षक दरबन्दी खुलेको छ ।