बाँकेको नौवस्थामा औद्योगिक क्षेत्र पूर्वाधार निर्माणमा ५ करोड बजेट विनियोजन



कोहलपुर/   प्रदेश सरकारले बाँकेको नौवस्थामा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको लागि ५ करोड बजेट विनियोजन गरेको छ । औद्योगिक क्षेत्रको विकासमा जोड दिँदै रोजगारी सिर्जना गर्ने नीति अघि सारेको प्रदेश सरकारले नौवस्तामा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो ।

‘ठूला उद्योगहरु बाँकेतर्फ आकर्षित गर्ने नीति लिई औद्योगिक शहरको रुपमा विकास गरिने छ’, मुख्यमन्त्री शंकर पोखरेलले बजेट वक्तव्यमा भनेका छन् । साथै प्रदेशको प्रमुख आर्थिक केन्द्रको रूपमा विकास गर्न कोहलपुर–नेपालगन्जलाई जोडेर एकीकृत शहरी विकास कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।

कोहलपुर–नेपालगन्ज, घोराही–तुलसीपूर र बुटवल– भैरहवामा विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गरी बस सेवा संचालन गर्न आवश्यक बजेट समेत विनियोजन गरिएको छ । त्यसका लागि ५ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रदेश यातायात सेवा संचालन सम्बन्धी सम्भाव्यता अध्ययन पनि गर्ने भएको छ ।

यस्तै प्रदेश सरकारले नेपालगन्जलाई औद्योगिक सहरका रुपमा विकास गर्ने घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रवार प्रस्तुत गरेको बजेटले नेपालगन्जलाई औद्योगिक सहरका रुपमा घोषणा गर्दै त्यसको कार्यान्वयनका लागि बजेट समेत विनियोजन गरेका हुन् ।

वनजन्य उत्पादन वृद्धि गरी जीवनस्तर उकास्न ध्यान दिइने योजना अघि सारेको सरकारले बाँके र दाङमा प्रदेशस्तरीय जडीवुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । यस्तै प्रादेशिक सूचना तथा संचार प्रतिष्ठान स्थापना गरी नेपाल टेलिभिजनको कोहलपुर प्रशारण केन्द्र र दाङ स्थित एफएम रेडियोलाई प्रादेशिक प्रशारण केन्द्रका रुपमा संचालन प्रक्रिया अघि बढाउन रु.२ करोड बजेट विनियोजन गरिएको छ ।

‘समृद्ध प्रदेश खुसी जनता’ नारा अघि सारेको प्रदेश ५ सरकारले आगामी बर्षका लागि २८ अर्बको बजेट ल्याएको छ । शुक्रवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३ गते आइतबार