कोहलपुर,२५ जेठ/ कोहलपुरका सुत्केरी आमाहरुले आमा सुरक्षा कार्यक्रम अन्र्तगत गर्भवती जाँच गराए बापत पाउनुपर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सम्पन्न नौवस्ता स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रमका सहभागी महिलाहरुले यस्तो गुनासो गरेका हुन् ।
सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरुमा सुत्केरी हुनेहरुले यातायात बापत रु ५०० र चार पटक गर्भवती जाँच बापत रु ४०० पाउने गरेको भएपनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी हुनेहरुले यातायात बापतको रु ५०० मात्र पाउने गरेको र चार पटक गर्भवती जाँच बापत पाउनुपर्ने रु ४०० विभिन्न बाहानामा मेडिकल कलेजले नदिएको महिलाहरुले गुनासो गरेका थिए ।
सामाजिक परीक्षणमा बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नौवस्था स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष राम चरण थारुले स्वास्थ्य क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्न स्थानीय सरकार लागि पर्ने बताए ।
कार्यत्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि केशव ज्ञावलीले सहभागीहरुले उठाएको समस्या समाधानका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्ने बताए ।
सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि तीन बुँदे प्रतिबद्धता समेत घोषण गरिएको छ ।
क्षयरोग तथा कुष्ठरोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने, आमा सुरुक्षा कार्यक्रम अन्र्तगत चार पटक गर्भवती जाँच बापत पाउने रु ४०० प्रोत्साहन रकम नपाएको बारे छलफल गरी यथार्तता पत्ता लगाउने लगायत रहेका छन् ।
सो स्वास्थ्य चौकीका इन्चार्ज मान बहादुर नेपालीले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्