8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

हेलो मुख्यमन्त्री हटलाइन सेवा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २५, २०७५  

सुर्खेत,२५ जेठ/   कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिहीबारदेखि ‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ सुरु गरेको छ ।

भौगोलिक रुपमा विकट रहेको कर्णालीका जनताले आफ्नो गाउँ–ठाउँमा भइरहेका गतिविधि, तथा जनताका गुनासो सुन्ने र कार्यान्वयन गर्ने उद्देश्यले हेलो मुख्यमन्त्री हटलाईन सेवा सुरु भएको हो ।

अब मुख्यमन्त्री कार्यालयमा अधिकृत तहको कर्मचारीले जनताले टिपाएका जनगुनोसा मुख्यमन्त्री समक्ष पु¥याउने छन् । प्रदेश सरकारले जनतासंग प्रत्यक्ष रुपमा जनताको जनगुनासो सम्बोधन गर्न हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो ।

‘हेलो मुख्यमन्त्री हटलाईन सेवा’ को शुभारम्भमा कालिकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसीकोटका दीपक वाँठामगरले गुनासो टिपाएका छन् ।

कालिकोट नरहरीनाथ गाँउपालिकाका प्रेमले जेठ १९ गते आफ्नो आमा मना सार्कीको हत्यारालाई कारवाहीको माग गरेका छन् भने, मुसीकोट नगरपालिकाका बाँठामगरले त्रिभुवन जनता माध्यामिक विद्यालयको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाईका सम्वन्धमा गुनासो गरेका हुन् ।

१०९६ नम्वरको हटलाईन सेवामा नागरिकले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २५, २०७५     7:25:21 AM  |