मिसन समाचारदाता, कोहलपुर, २१ जेठ / बाँकेका स्थानीय तहमा कार्यरत स्थास्थ्यकर्मीहरुले विगत चार महिनादेखि तलब पाएका छैनन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई भिटामिन ‘ए’ को खुवाएको भत्तासम्म दिइएको छैन । महिनौसम्म सेवा सुविधा नपाएपछि ‘घरखर्च चलाउनै मुस्किल’ भएको भन्दै बाँकेका स्वास्थ्यकर्मीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्या समाधानका लागि आग्रह गरेका छन् ।
आइतबार उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष टेकबहादुर केसी, राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रकाश गौतम, अखिल नेपाल राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संघका अध्यक्ष कबिराम बुढाथोकी, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष खडग रोक्का र नेपाल नर्सिङ्ग संघकी अध्यक्ष लक्ष्मी केसीले संंयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
स्थानीय तहमा सबैभन्दा पहिले खटिएका स्वास्थ्यकर्मीहरुलाई महिनौंसम्म तलब नदिएपछि उनीहरु रुष्ट भएका छन् ।
लामो समयसम्मको पारिश्रमिक नपाएपछि घर खर्च चलाउन समस्या भएको र बालबालिकाको मासिक शुल्क तिर्न समेत समस्या भई शारिरीक तथा मानसिक तनावको अवस्था सिर्जना भएको स्वास्थ्यकर्मीहरुको निष्कर्ष छ ।
जतिसक्यो छिटो समस्याको समाधान गर्न आग्रह गर्दै उनीहरुले अन्यथा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्