२०७५, जेठ १३/ नेपालगञ्जमा आगामी मंसीरमा हुने आठौ राष्ट्रिय खेलकुद टुबोर्ग तेस्रो गोल्डकप फुटबल प्रतियोगिता खजुराको डीगाउँमा हुने भएको छ । टुबोर्ग तेस्रो गोल्डकपको तेस्रो संस्करण खजुराको नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुने भएको हो ।
बाँके जिल्ला फुटबल संघले आइतबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष भोजराज शाहीले पश्चिमको चिरपरिचित रहेको नेपालगञ्ज गोल्डकपलाई खजुरामा गर्दा अझ फुटबल क्रेज बढ्ने बताए । उनले नेपालगञ्ज रंगशालामै गर्ने तयारी भएपनि आठौका लागि रंगशाला मर्मत भइरहेकाले खजुरामा गर्नुपरेको बताए । प्रतियोगिताको ७५ प्रतिशत तयारी पूरा भइसकेको छ । डीगाउँको मैदानमा यसअघि पनि ठूल्ठूला प्रतियोगिता भइसकेको छ ।
टुबोर्ग तेस्रो गोल्डकप फुटबल प्रतियोगिता आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् । सो टीममा पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११, दोस्रो संस्करणको विजेता लाली रुपन्देही–११ सँगै नेपालगञ्ज–११, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, संकटा, च्यासल फुटबल क्लव र भारतको पञ्जाव–११ ले नेपालगञ्ज गोल्डकपमा प्रतिस्पर्धा गर्दैछन् ।
उपाधि विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार राखिएको छ । त्यस्तै, उपविजेताले दुई लाख ५१ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र हरेक खेलका म्यान अफ द म्याचले एउटा मोबाइल पुरस्कार पाउने छन् । प्रतियोगिताको लागत ७५ लाख रुपैया अनुमान गरिएको छ । यसपटक टिकट भने ‘स्वविवेक’ को नीति लिइएको छ । संघका अध्यक्ष शाहीका अनुसार, टिकट त राखिन्छ । जसले पैसा दिन्छ । उससँग सहयोग स्वरुप लिइन्छ । पैसा नदिएर पनि फुटबल हेर्न सक्छन् । संघले फुटबललाई माया गर्ने दर्शकले पचास÷सय रुपैयाको टिकट किनिदिने विश्वास गरेको छ । जेठ २१ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई टुबोर्ग, रेडबुल, रुस्लान, प्रिति चाउचाउ लगायतले सहयोग गरेका छन् ।
पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, टुबोर्गका क्षेत्रीय प्रवन्धक योगेन्द्र भट्ट, खेलकुदका अगुवाहरु गोवद्र्धन सिंह सम्झना, निजामुद्दिन सिद्धिकी (मुन्ना), खजुराका वडाध्यक्ष एवं न्यूँ डाँफे क्लवका अध्यक्ष तिलकबीर सुनार, खेलकुद पत्रकार मञ्चका जयनारायण शाह लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७५ जेठ १३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्