सुर्खेत,८ जेठ/ सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रिमियर लिग(केपिएल) मा आज भएको तेस्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लब विजयी भएको छ ।
मध्यपश्चिमले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाउन सक्यो । उसको लागि कप्तान विपिन आचार्यले सर्वाधिक ४३ रन बनाउन ५० बलमा ४ चौका प्रहार गरे । मध्यपश्चिमका बलर अमरसिंह रौटेला एक्लैले ५ विकेट तथा सुनिल सुनार, दीपेन्द्र रावत र अविनाश बोहराले समान १/१ विकेट हात पारे ।
१०७ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले १३.४ ओभरमा भेटायो । उसको लागि ओपनिङ ब्याटिङ गरेका राजवीर सिंहले सर्वाधिक अविजित ६१ रन बनाए । जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । सिद्धान्तराज शाहीले ३८ रन बनाउन ३० बलमा ७ चौका प्रहार गरे । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका बलर प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पारे । खेलको प्लेयर अफ् द म्याच अमरसिंह रौटेला घोषित भए ।
आजै भएको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो । उसको लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन योगदान दिए । बलिङतर्फ पारस केसी र महेन्द्र साउदले समान २–२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिङ गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए ।
१२३ रन लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट पूरा गर्यो । उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए । बलिङतर्फ भेरीगंगाका शिभ डाँगी र तिलक थापाले २–२ विकेट लिए । खेलको प्लेयर अफ् द म्याच महेश साउद घोषित भए ।
यसैगरी आज नै भएको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारीत २० ओभरमा २ विकेट मात्रै गुमाएर २२६ रनको विशाल योगफल तयार गरेको थियो ।
आर्मीको लागि प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सागर पुनले अविजित १०२ रन बनाए जुन क्रममा उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे । विनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए ।
२२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । आर्मीका बलर सुसन भारी र जितेन्द्र मुखियाले समान ३–३ विकेट हात पारे भने राजेश पुलामीले २ विकेट हात पारे । टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ् द म्याच सागर पुन घोषित भए ।
आजको खेलसंगै अंकतालिकाको समूह ’ए’ मा रुपन्देही ११.३ खेलमा ३ जितसहित शीर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ३ खेलमा २ जित र १ हारसहित ४ अंकमा रहेको छ । ४ वटा खेल खेलेको टिकापुर क्रिकेट क्लबको ४ खेल खेल्दा २ जित र २ हारसहित ४ अंक रहेको छ ।
यस्तै समूह ’बी’ मा धनगढी क्रिकेट एकेडेमी ३ खेलमा जितसहित ६ अंक शीर्ष स्थानमा रहेको छ भने मध्यपश्चिम क्रिकेट क्लबको ४ खेलमा ३ जित र १ हारसहित ६ अंकमा रहेको छ ।
जेठ ३ गतेदेखि सुरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ । कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्