नेपालगन्जमा प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स सुरु



नेपालगन्ज,८ जेठ/  प्रदेश नम्बर पाँच स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स सोमबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जस्थित रंगशालामा एक कार्यक्रमका विच उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सको प्रदेश सांसद कृष्णा केसी नमुनाले उद्घाटन गरिन् ।

आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अनुसार उपराष्ट्रपति कप चिल्ड्रेन गेम्समा ५ नम्बर प्रदेशका १२ जिल्लाका ३ सय ३६ जना खेलाडी र ६० जना अफिसियलहरु सहभागी भएका छन् ।

उद्घाटन समारोहमा बोल्दै प्रदेश सांसद नमुनाले खेल क्षेत्रको विकास गर्नको लागि बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा सहभागिता गराउनुपर्ने बताइन् । यस क्षेत्रमा खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनीले जनाइन् ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा उपाध्यक्ष नरेन्द्र थापाले स्वागत मतव्य राखेका थिए ।

प्रदेश नम्बर पाँचबाट छनौट भएका ( विजेता÷उपविजेता) ले यही जेठ १० र ११ गते काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागिता जनाउने छन् ।

सातै प्रदेशबाट छनौट भएका खेलाडीहरुले काठमाडौंमा प्रतिस्पर्धा गर्ने छन् । चिल्ड्रेन गेम्स अन्तरगत एथलेटिक्स, लङजम्प, ट्रिपलजम्प, सटपुट, कराते, उसु, तेक्वान्दो लगायतका खेलहरु समाविष्ट गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक एवँ क्षेत्रीय उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा कक्षा ६, ७ र ८ मा अध्यनरत १४ वर्षसम्मका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको कुल लागत खर्च १७ लाख ४० हजार रुपैया रहेको बताइएको छ । सोमबार कराते खेलका विभिन्न ईभेन्टहरु सम्पन्न भएका छन् । छात्र ३० किलोग्राम तौलतर्फ रुपन्देहीका सन्तोष खडका र नवलपरासीका आयुष कंवर, ३४ केजीमा दांगका प्रज्जवल सुनार र सुशान्त थापा क्षेत्री, ३८ केजीमा अर्घाखाँचीका मनोज घर्तीमगर र कपिलवस्तुका प्रशान्त पुन मगर, ३८ केजीमा रुपन्देहीका समिन गिरी र रोल्पाका आदर्श सिंह राना फाइनलमा प्रवेश गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ८ गते मंगलबार