कविन्द्र परियार : कोहलपुर,८ जेठ/ बाँकेको कोहलपुर नगर कार्यपालिकाको २७ औं बैठक वैशाख १७ गते आएको हावाहुरी र असिना पानीका कारण क्षति भएका १० वटा गन्धर्व घर र १ थारु परिवारलाई तत्कालको लागि राहत सामग्री दिने र घरको नाप बमोजिम जस्ता पाता विपद् व्यवस्थापन शीर्षकबाट उपलब्ध गराउने निर्णय गरिएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी आइतबार बसेको बैठकका निर्णयहरुबारे कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालले जानकारी गराएका छन् ।
साथै बैठकबाट विभिन्न निर्णय समेत गरिएको छ ।
कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले गैरसरकारी संस्था समन्वय सम्बन्धी निर्देशिका २०७५ को कार्यपालिकाको सदस्यहरुले अध्ययन गरी आगामी कार्यपालिकाको बैठकमा पेश गर्ने, सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी उजुरी सम्बन्धमा आगामी कार्यपालिकाको बैठकमा पेश गर्ने, निणर्य गरिएको छ ।
त्यस्तै वडा नं. १२ का बाढी पीडित विर बहादुर बि.क. र कमला सापकोटाका परिवारलाई १५ सयका दरले विपद् कोषबाट राहत उपलब्ध गराउने, कोहलपर नगरपालिकाको नाममा अक्षयकोष स्थापना गर्ने, बाँके नेत्रहीन क्रिकेट संघलाई सातौं राष्ट्रिय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा सहभागी हुन खेलकुद शीर्षकबाट १० हजार सहयोग गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ बमोजिम समन्वय समितिमा कार्यपालिकाको सदस्यहरु मध्येबाट लिला पाण्डेलाई र अन्य तोकिएका पदाधिकारीबाट मनोनीत हुने सदस्यहरु रहने गरी स्थानीय समन्वय समितिलाई पूर्णता दिने निर्णय गरिएको जनाइएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाका पूर्व कर्मचारी ढाल बहादुर डाँँगीले पुनः बहाली पाउँ भनी नगरपालिकामा निवेदन दिएकोमा सो विषयमा अध्ययन गरी अर्को कार्यपालिकाको बैठकमा पेश गर्ने र कोहलपुर गौरवको योजना मध्ये त्रिभुवन मावि हुँदै गोल्छा सम्मको ढल निर्माण कार्य उपभोक्ता समिति मार्फत सञ्चालन भई रहेको र बैशाख १६ र १९ गते परेको अविरल वर्षाका कारण ढल भत्किन गई क्षति पुगेको विषयमा कोहलपुर नगरपालिकाबाट छानविन टोली
गठन भएको सो छानविन टोलीको प्रतिवेदन माथि छलफल गरिएको प्रवक्ता रिजालले जानकारी दिएका छन् ।
यस्तै कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट ह्यूम पाईप मागलाई आत्मसात् गर्दै १५ वटै वडालाई ३६ वटा ह्यूम पाईप उपलब्ध गराउने र विद्युतीकरण शीर्षकबाट खरिद भई कार्यालयमा दाखिला भएका ट्रान्सफार्मरहरु वितरण गर्ने निर्णय समेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्