अन्तर विद्यालयस्तरिय प्रथम मेयर कप सम्पन्न



नेपालगन्ज,५ जेठ/  अन्तर विद्यालयस्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार सम्पन्न १४ वर्ष मुनिको फाईनल खेलमा पशुपति माविलाई शून्यको विरुद्ध चार गोल अन्तरले पराजित गर्दै जनज्योति मविले उपाधि जितेको छ । जनज्योतिका तर्फबाट मोहन सिह मगरले २, गिफ्ट पाण्डे १ र नबीन विसीले १ गोल गरेका थिए ।

यस अघि शुक्रवार सम्पन्न भएको सिनियर छात्रतर्फको उपाधि जिभिएन कलेज नेपालगन्ज र छात्रा तर्फको उपाधि जनज्योति माविले जितेका थिए ।

प्रतियोगिता अवधिभर उत्कृट खेल प्रदर्शन गरेका सिनियरतर्फ जिभिएनका विशाल थापा, छात्रातर्फ अमर माविकी मनिषा नेपाली र १४ वर्ष मुनितर्फ जनज्योति माविका मुकेश घर्तिमगर उत्कृट खेलाडी घोषित भए ।

विजयी खेलाडीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगर, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही लगायतले पुरस्कार, प्रमाण पत्र तथा शिल्ड प्रदान गरेका थिए ।

बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको संयूक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

छात्रतर्फ १४ वर्षमुनि र सिनियर तथा छात्रातर्फ १६ वर्ष मुनिको गरी ३ वटा विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका थिए ।

यु–१४ छात्रमा १६ विधालय, सिनियर छात्रतर्फ १४ विधालय र यु–१६ छात्रनतर्फ ४ विधालयका टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार