3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

बाँसगढीको बेलौलीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ३०, २०७५  

रावन बिश्वकर्मा : बर्दिया,३० वैशाख/ बर्दिया बाँसगढीको बेलौलीलाई सिमसार क्षेत्र विकास गरी होमस्टे सञ्चालनको लागि छलफल चलाइएको छ ।

बाँसगढी क्षेत्रमा सम्भावित पर्यटकिय क्षेत्रको ठूलो सम्भावना भए पनि पर्यटकिय क्षेत्रको रुपमा पहिचान गर्न नसकिरहेको अवस्थामा बाँसगढीका युवा तथा व्यवसायीहरुले बेलौलीलाई सम्भावित पर्यटकिय क्षेत्रको रुपमा पहिचान गरी समुदायहरुसँग छलफल चलाएका हुन् ।

बाँसगढीका युवा तथा व्यवसायीहरु शंकर शर्र्मा, होमनाथ अधिकारी, सन्तोष देकाकोटा, इन्जिनियर कृष्ण पौडेल लगायतले बेलौली गाँउ हरेक हिसावले सम्भावना बोकेको गाँउ भएकाले गाँउको समृद्धि र विकासको लागि सिमसार क्षेत्र विकास गरी होमस्टे सञ्चालनको लागि छलफल चलाएको बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्च नजिकै पर्ने बेलौली गाँउको सामुदायिक वनमा रहेको रेउ खोला भएकाले सिमसार क्षेत्रको रुपमा विकास गर्न सकिने, बेलौली गाँउको भुगोल समथल र गोलाकार गाँउ भएकाले भ्यालीको रुपमा विकास गर्न सकिने, विभिन्न सामुदायिक वनहरुमा घाँसे मैदानहरु पर्याप्त भएकाले पार्क बनाई घाँसे मैदानको रुपमा विकास गर्न सकिने, सिँचाईका लागि बनाइएको पानी सञ्चय(ड्याम)लाई सुईमिङ पुलको रुपमा विकास गर्न सकिने, गाँउमा आदिवासी थारु, विभिन्न रहन सहनका पहाडी समुदायहरुको बसोबास भएकाले सबैको कला साँस्कृतिको जर्गेना गर्दै नमुना गाँउको रुपमा विकास गर्दै होमस्टे सञ्चालन गर्न सकिने लगायत थुप्रै सम्भावनाहरु रहेकाले बेलौली गाँउलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने छलफलमा जोड दिइएको थियो ।

छलफल कार्यक्रममा सहभागी गायत्री सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष माधव पौडेल, पौरखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर कार्की, प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आईतराम बुढा, नवप्रभात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर बोहोराले बेलौलीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिँदै आफ्नो सामुदायिक वन समिति र उपभोक्ताहरु सँग छलफल गरी थप योजना बनाउने प्रतिबद्धता जनाएका छन् ।

पुर्वपश्चिम राजमार्गबाट करिब साढे ४ किलोमिटर भित्र उत्तरतर्फ पर्ने बेलौली गाँउमा करिब साढे ४ सय घर धुरी रहेका छन् ।

प्रकाशित मितिः आइतवार, बैशाख ३०, २०७५     9:30:18 PM  |