सुर्खेत,१५ वैशाख/ छोटो समयमा लागि कर्णाली प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न सकिने योजनाहरुका लागि मात्रै विनियोजन गरिएको बताइएको छ ।
चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशसले पहिलो पटक ल्याएको बजेटका विषयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आर्थिक मामीला तथा योजनामन्त्री प्रकाश ज्वालाले कार्यान्वयन गर्न सकिने योजनालाई मात्र बजेटले सम्बोधन गरेको बताए ।
बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको बजेट सानो हुनुका साथै सबै विषयवस्तु समेट्न नसकेको सांसद्हरुमार्फत गुनासो आएको भन्दै उनले बजेट वक्तव्यमा समावेश हुने तर कार्यान्वयन गर्न नसकिने खालका योजनाहरुलाई अहिले नराखिएको स्पष्ट पारे ।
‘छोटो समयमा निकै अन्योलताका बीचमा हामीले बजेट ल्याएका छौं, त्यसैले तत्काल कार्यान्वयन गर्न सकिने योजनाहरु मात्रै प्राथमिकतामा पारिएको हो’ मन्त्री ज्वालाले भने ।
चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्रै बाँकी रहँदा काम सम्पन्न गर्न सकिने विश्वास लाग्ने योजनामा मात्रै बजेट विनियोजन गरिएको उनको भनाइ छ । बजेट महत्वाकांक्षी नै हो ।
उनले धेरैले बजेट वक्तव्य महत्वाकांक्षी भएको टिप्पणी गरेकाले सरकारले जानाजान महत्वाकांक्षी बनाएको दाबी गरे । ‘धेरै साथीहरुले महत्वाकांक्षी भयो भनेर असन्तुष्ट पनि व्यक्त गर्नुभयो, तर सरकारले जानाजान यो बजेट महत्वकांक्षी बनाएको हो’ उनले भने, ‘विकासका लागि महत्वकांक्षा नै नराख्ने, सपनानै नदेख्ने हो भने कसरी हामीले समृद्धिको मार्ग निर्माण गर्न सक्छौं ।’
मन्त्री ज्वालाले पहिलो पटक बजेट ल्याइएकाले केही छुटेपनि दिर्घकालिन रुपमा एतिहासिक दस्तावेज बन्ने दाबी गरे । ‘धेरैको गुनासो आफ्नो निर्वाचन क्षेत्रमा बजेट परेन भन्ने छ, विगतमा जताततै बजेट उछिट्याउँदा नै हिनामिना भयो’ उनले थपे, ‘त्यसैले हामीले सरकारले अगाडी बढाउन सक्ने योजनालाई मात्रै प्राथमिकतामा राख्यौं ।’
मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरु प्रदेशमा पनि समावेश गर्दा केन्द्र सरकारलाई दबाव हुने भएकाले बजेटमा समावेश गरिएको जानकारी दिए ।
बजेट तत्काल कार्यान्वयन सञ्चारकर्मीको भेटमा आर्थिक वर्ष सम्पन्न हुन छोटो समय बाँकी रहेकाले बजेट कार्यान्वयन तत्काल अगाडि बढाइने बताए ।
‘धेरै ढिला भइसकेको छ, आजैदेखि अख्तियारी दिने तयारीमा हामी जुटेका छौं । विषयगत मन्त्रालयहरुले कार्यक्रमहरु ल्याउने बित्तिकै बजेट कार्यान्वयनमा जानेछ’ उनले भने ।
उनले समय अभावका कारण खर्च खुम्चिएको तर बजेटले भने, दिर्घकालिन थिति बसाल्नमा सहयोग पु¥याउने बताए । ‘अहिले दुई महिनामै सबै बजेट खर्च गर्न सकिँदैन, तर आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन यसले मार्गनिर्देशन गर्नेछ’ मन्त्री ज्वालाको भनाइ थियो ।
उनले हवाई एम्बुलेन्सको योजनालाई केहीले मजाकको विषय बनाएपनि कर्णालीका गरिबहरुका लागि सबैभन्दा सहयोगी र प्रभावकारी कार्यक्रम हुने दाबी गरे । बाढीपीडितको व्यवस्थापन तत्काल विगत चार वर्षदेखि च्यातिएको पालमुनि बसोबास गरिरहेका सुर्खेतका बाढी पीडितको समस्या भने तत्काल समाधान हुने भएको छ ।
बजेटले पनि बाढी पीडितलाई सम्बोधन गरेकाले उनीहरुको बसोबास व्यवस्थापन गर्ने कार्य तत्काल अगाडि बढाउने उनको भनाइ छ । ‘लामो समयदेखि सरकारकै आशमा बाढी पीडितहरु बसेका छन्, हाम्रो पहिलो प्राथमिकता उनीहरुको व्यवस्थापन नै हुनेछ’ मन्त्री ज्वालाले भने, ‘बर्षात आउन लागेकाले उनीहरुलाई स्थायी बसोबासको व्यवस्था सरकारले मिलाउनेछ, यो वर्खा बाढी पीडितले आफ्नै घरमा बस्न पाउनेछन् ।’
सुकुम्बासी, भूमिहीन लगायतका विभिन्न आयोगले लगत संकलन गरी प्रक्रिया मिलाइरहेको तर बाढी पीडितको समस्या दैनिक विकराल बन्दै गएकाले वर्षात अघि नै उनीहरुको समस्या समाधान गर्ने मन्त्री ज्वालाले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्