1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १४, २०७५  

काठमाडौं,१४ वैशाख/ उत्तर कोरियाका नेता किम जोङ्ग उन दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग कुराकानी गर्न दक्षिण कोरिया पुगेका छन् ।

सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाको रुपमा विभाजित भएको थियो ।

वार्ता सुरु गर्नुभन्दा पहिले उत्तर र दक्षिण कोरियाका नेताले दुवै देशको सीमा क्षेत्रमा भेटेका थिए । उनीहरुले एकअर्कासँग हात मिलाएका थिए । एएफपीका अनुसार मुनले किमसँग ‘तपाईंलाई भेट्न पाउँदा म खुसी छु,’ भनेका थिए ।

अब उनीहरुबीचको शिखर वार्ता असैन्य क्षेत्रमा हुने बीबीसीले जनाएको छ ।

यो ऐतिहासिक भेटवार्ताप्रति विश्वको चासो उत्तर कोरियामा छ । उत्तर कोरियाले हालै परमाणु हतियार कार्यक्रम रोक्ने संकेत दिएको थियो । यो भेटवार्तापछि उसले कस्तो कदम चाल्छ भन्ने चासो व्यापक छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १४, २०७५     7:53:50 AM  |