बर्दिया,८ वैशाख/ बर्दियामा दशौँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं ५ की उपसभामुख कृष्णी थारुले बेलुन उडाएर गरेकी हुन् ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा बर्दिया जिल्लाभरिका २१ वटा माध्यमिक विद्यालयका तीन सय २७ जना विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि खेलाडी समेत छनौट हुने यस खेलमा विभिन्न दुरीका दौड, हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रा,े सटफुट, भलिबल र कराटे प्रतियोगिता हुने भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी तथा विद्यालयहरुले नगद पुरस्कार सहित शिल्ड प्राप्त गर्नेछन् भने प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतिकुल मौसममा खेल प्रतियोगिता राखेको भन्दै विभिन्न विद्यालयका प्रधानाध्यपकहरुले असन्तुष्ट व्यक्त गरेका छन् । विद्यालयमा भर्ना अभियान सञ्चालन भईरहेको, विद्यार्थीहरु छुट्टीमा रहेको र गर्मी मौसममा प्रतियोगिता सञ्चालन गरेको भन्दै आयोजकको आलोचना गरेका छन् ।
खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले प्रतियोगिता ढिलो गरी सुरु गर्नु वाध्यता भएको बताए । नयाँ संरचना आइसकेपछि प्रतियोगिता कसरी सञ्चालन गर्ने भन्ने कुरा अन्योलमा भएको हुनाले प्रतियोगिता ढिलो सञ्चालन भएको बताए ।









प्रतिक्रिया दिनुहोस्