रुकुम पश्चिमको बाँफिकोटका वडा अध्यक्ष र उपाध्यक्ष कम्प्युटर सिक्दै



रुकुम पश्चिम,६ वैशाख/   रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका वडाध्यक्षहरु कम्युटर सिक्न व्यस्त रहेका छन् ।

वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भए पनि वडाअध्यक्षहरुलाई कम्प्युटर चलाउन नआउँदा समस्या हुने गरेको छ । वडाअध्यक्षहरु प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै वडाध्यक्षहरुलाई प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले तालिम सञ्चालन गरेको छ ।

वडाध्यक्षहरुसँगै गाउँपालिकामा गठन भएका ६ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले समेत कम्प्युटर सिकिरहेका छन् ।

तालिममा सहभागी १० वडाध्यक्ष, ६ विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्ष गरी १७ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधि लगायतका प्राविधिक शिक्षा पढिरहेका छन् । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीका अनुसार उनीहरुले अफिसमा चाहिने प्राविधिक ज्ञान सिक्नेछन् ।

प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्धेश्यले आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको केसीको भनाइ छ । गाउँपालिकाले गाउँपालिका तथा वडा कार्यालयबाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमा अपडेट गर्न लागेकाले पनि वडाध्यक्षहरुलाई कम्प्युटर सिकाइएको वडाअध्यक्ष केसीले बताउनुभयो ।

तालिम पश्चात वडा तथा विषयगत समितिबाट हुने काम कम्प्युटरबाट सुरु गरिने छ । जसका लागि वडा र विषयगत समितिलाई एक÷एक सेट ल्यापटप तथा कम्प्युटरको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार