उभिएर गीत नगाएको भन्दै गायिकाको गोली हानी हत्या



पाकिस्तान,२९ चैत/ पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ ।

समीना समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए ।

उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए । प्रहरीका अनुसार तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका थिए ।

तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको थियो । घटनास्थलमै गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान गएको छ ।

घटना घटेलगत्तै घटनाका आरोपीलाई गिरफ्तार गरिसकिएको छ । यस घटनाको पाकिस्तानमा चौतर्फी विरोध भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २९ गते बिहीबार