कविन्द्र परियार : कोहलपुर,२८ चैत/ राप्तीसोनारी–९, ढकेरीका कर्णबहादुर खड्काको ५० किलोको बंगुर महिना दिनअघि चितुवाले खोरबाटै तानेर खायो । उनले ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा जानकारी गराए ।
समितिले सिफारिस त पठाए तर, राहत पाउने÷नपाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । सोही ठाउँका कुवेर वलीको पनि चितुवाले दुईवटा बाख्रा
खायो । उनले राहतका लागि फारम भरे तर, उनी पनि राहत पाउने÷नपाउनेबारे अनभिज्ञ छन् ।
‘वैशाखमा राहत पाइन्छ भन्ने सुनेको छु,’ उनले भने, ‘हेरौं के हुन्छ ।’ यी त प्रतिनिधिमूलक घटना हुन् । उनीहरूजस्तै वन्यजन्तुले घरपालुवा जनावरलाई क्षति पु¥याएका पीडित थुप्रै छन् ।
वन्यजन्तुले क्षति पु¥याए पनि मध्यवर्ती क्षेत्रका बासिन्दा झन्झटिलो प्रक्रियाका कारण राहत पाउन नसकेको गुनासो गर्ने गरेका छन् । चितुवाले बाख्रा, भेडा, गाईका बाच्छाबाच्छीलगायतका घरपालुवा जनावर मार्ने गरेको पाइन्छ ।
बाँके राष्ट्रिय निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार मध्यबिन्दु मध्यवर्ती क्षेत्रका ३, ढकेरी मध्यवर्तीका ५, राजकोट मध्यवर्ती क्षेत्रका २, कोहलपुर मध्यवर्ती क्षेत्रका १८ घरधुरीका घरपालुवा जनावरलाई वन्यजन्तुले क्षति पु¥याएको देखिन्छ । तर, कतिपय मध्यवर्ती क्षेत्रका बासिन्दाले राहत प्राप्त गर्ने प्रक्रिया थाहा पाएका छैनन् ।
फूर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समिति दाङ अध्यक्ष गम्मरबहादुर घर्तीले आफूले सिफारिस गरेर पठाए पनि पशुसेवा केन्द्रले मरेका पशुको पोष्टमार्टम रिपोर्ट चाहिने भन्दै अड्को थापेर सिफारिस नगरेकाले किसानले राहत नपाएको बताउँछन् ।
मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष हर्कबहादुर विष्टले तीनवटा क्षतिको विवरण पठाएको र दुईवटा सिफारिसको प्रक्रियामा रहेको बताए । किसानले राहत पाउने प्रक्रिया निकै झन्झटिलो भएकाले यसलाई सहज बनाउने प्रयास गरिरहेको उनको भनाइ छ ।
राप्ती मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष बलबहादुर घर्तीले वन्यजन्तुले महिनामा तीनदेखि चारवटासम्म घरपालुवा जनावर मार्ने गरेको बताए । हालसम्म करिब ३० जना जतिले राहत पाइसकेको र थप सातजनाले राहत पाउन बाँकी रहेको जानकारी दिए ।
पुन्धारा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले हालसम्म क्षतिको विवरण सिफारिस गरेको छैन । यहाँका उपभोक्ताले भौगोलिक विकटता र सञ्चार सम्पर्कबाहिर भएकाले समस्या भएको अध्यक्ष पोखरसिंह बुढाले बताए ।
‘वन्यजन्तुले धेरै मात्रामा क्षति पु¥याएको छ,’ उनले भने, ‘उपभोक्ताले दुईदेखि चारघण्टासम्म हिँडेर आउनुपर्ने भएकाले अहिलेसम्म कुनै सिफारिस गरिएको छैन ।’ प्रक्रियामा जाँदा दोब्बर रकम खर्च हुने भएकाले उपभोक्ताले घरपालुवा जनावर क्षतिको विवरण उपलब्ध नगराउने गरेको उनको भनाइ छ ।
निकुञ्ज कार्यालयबाट मुचुल्का फारम फारम पाउनै मुस्किल भएको ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति कर्मचारी लोकमणि गौतमले बताए । यो मध्यवर्तीमा गत वर्ष सातजनाले राहत पाएको अध्यक्ष शिवकुमार राना बताउँछन् । यस वर्ष ९ जनाले राहत पाउने प्रक्रियामा रहेको
उनले बताए ।
वन्यजन्तुले जोत्ने हल गोरु तथा राँगालाई क्षति पु¥याएमा ३० हजारसम्म राहत पाइने गरेको छ । तर, बाख्रा, भेंडाजस्ता जनावर क्षति पु¥याएमा बिगो हेरेर ७५ प्रतिशतसम्म मात्र रकम पाइने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कोहलपुर मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सावित्रा पुनले झन्झटिलो प्रक्रियाका कारण किसानले राहत पाउन मुस्किल भएको बताइन् । ‘घरपालुवा जनावरको क्षतिको मुचुल्का गर्ने पशु सेवाले सिफारिस गर्न मान्दैन,’ उनले भनिन्, ‘आगामी आर्थिक वर्षदेखि स्थानीय तहबाटै राहत उपलब्ध गराउनुपर्छ भन्ने माग गरेका छौँ ।’
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यस्थापन समिति अध्यक्ष गेहेन्द्र खड्काले वन्यजन्तुबाट घरपालुवा जनावर क्षति भएमा राहत पाउनै दुईदेखि चार महिनासम्म प्रक्रिया पु¥याउने लाग्ने बताउँछन् ।
‘हामी वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि लागिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म तीन सयवटा सुरक्षित बाख्राका खोर निर्माण गरेका छौँ ।’ साथै वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्नकै लागि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय निकायको संयुक्त लगानीमा पाँच करोडको लागतमा तारबार गर्न लागिएको उनले बताए ।
बाँके राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षक अधिकृत लालबहादुर भण्डारी सम्पूर्ण प्रक्रिया पूरा गरेर आएमा किसानले स्वतः राहत पाउने बताउँछन् । ‘घटना भएको ३५ दिनभित्रमा सम्पूर्ण कागजात पूरा भई आएमा हामी सिफारिस गर्छौ,’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्