‘असहजताबीच सहजता ल्याउने प्रयास जारी छ’



            कोहलपुर नगरपालिका–१ वडा अध्यक्ष  गोपी खनालसंग मिसनकर्मी डिल्ली शाहीले गरेको कुराकानी


१. अहिले वडा कार्यालयले कसरी काम अगाडि बढाइरहेको छ ?
वडा कार्यालयको दैनिकी कामहरू घटना दर्ता, सिफारिसका कुरा, नागरिकता सिफारिस गर्ने, उपभोक्ता समितिले गरेका कामको अनुगमन गर्ने, विकासका निर्माण कामको अवलोकन गर्ने लगायतका काम भइरहेका छन् ।

२. तपाईं जनप्रतिनिधिको रूपमा आइसकेपछि वडामा के–कस्ता काम गर्नुभयो ?
जनज्ञानज्योति माध्यमिक विद्यालयको टिनको छाना जीर्ण अवस्थामा थियो । सो टिनको छानालाई मर्मत गरेर विद्यार्थीलाई बस्नको लागि सहज वातावरण बनाएको छु । त्यस्तै कृष्ण माध्यमिक विद्यालयको शौचालय नभएर विद्यार्थीले जथाभावी दिसापिसाब गर्ने भएकाले फोहर भएको स्थिति थियो । सो विद्यालयमा शौचालय निर्माण गरेर विद्यार्थीलाई दिसापिसाब गर्न सहज बनाइएको छ । अहिले महत्वपूर्ण काम भनेको वडा नं. १ को ‘क’ लाइनमा कालोपत्रेको काम सुचारु भएको छ ।

३. काम गर्न कत्तिको सहज छ ?
म निर्वाचित भएर आएपछि असहजताका बाबजुत पनि सहजता ल्याउनुपर्छ, जनताका कामलाई सहज ढङ्गले कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता लिएको छु । कतिपय अज्ञानताको बाबजुत आफ्ना बालबच्चाहरूको समयमा घटना दर्ता, जन्म दर्ता, गरेका हुँदैनन् । बालबालिका ठूलो भइसकेका हुन्छन् । यस्ता विभिन्न समस्या छन् । यसका बाबजुत पनि जनताले सहज ढङले नागरिकताको प्राप्त गरुन् भन्ने अभिप्रायको आधारले वंशहरू पत्ता लगाएर पनि नागरिकताका लागि सिफारिस गर्ने गरेको छु ।

४. काम गर्दै जाँदा कस्ता किसिमका अप्ठ्यारा आए ?
समाजले राम्रो नराम्रो मूल्याङकन गर्नुका साटो अलिकति खुट्टा तान्ने, काममा बाधा पु¥याउने, नेतृत्व गरेर काम गर्दा पनि पछाडिबाट कुरा काट्नेलगायतका अप्ठ्यारा समस्या आएका छन् । अझ भन्ने हो भने कुनै पोल, सडक विस्तार गर्दा, बिजुलीको तार हाल्न खोज्ने जस्ता कामहरू अगाडि बढाउँदा समाजमा रहेका जग्गा धनीहरूले मेरो जग्गा एक हात यता पर्छ, उता पर्छ, जग्गा मिचियोे भन्ने खालको समस्या आएका छन् । मेरो वडामा त्यति घटना त घटेका छैनन्, अलि छुटफुट घटना भएका छन् ।

५. जनताबाट कस्ता किसिमका प्रतिक्रिया पाउनु भएको छ ?
वडामा जति पनि काम सम्पन्न भएको छन्, ती सबै सहजताका साथ पूरा भएका छन् । केही काम उपभोक्ता समितिद्वारा अगाडि बढाइरहेको छु । मैले विश्वासका साथ रहेर उपभोक्ता समितिलाई काम दिएको छु । जनताले अविश्वास गर्ने वातावरण गराएको छैन ।

६. जनताले सिंहदरबारको अधिकार गाउँमै पाएको अनभूति सकेका छैनन् भन्ने गुनासो छ, यसलाई कसरी लिनुहुन्छ ?
जनताहरुलाई सिंहदरबार गाउँगाउँमा आइरहेको छ भन्ने संविधानले बोलेका कुरा यथार्थ नै हो । बोल्दैमा त्यो हुँदो रहेनछ । ऐननियम, कानुन बनेर स्थानीय तहसम्म आएको हुनुपर्छ, बनेर पनि जारी होला । भर्खरै सम्पन्न भएका संघीय निर्वाचन, प्रदेश निर्वाचन, राष्ट्रपति निर्वाचन, राष्ट्रिय सभालगायतको निर्वाचन भएको छ । विभिन्न क्षेत्रमा ऐननियम बनाउने कामहरू प्रदेश सरकारले गरेको हामीले सुनिरहेका छौं । हाम्रो यस नगरपालिकाको मूलः समस्या भनेको सुकुमवासी समस्या हो । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि लालपुर्जा वितरण गर्नेसम्मका अधिकार स्थानीय तहमा छ । तर, ऐननियम नबनेकाले यसलाई कार्यान्वयन गर्न समस्या बनेको हो । अबको ६ महिनाभित्र ऐननियम आएपछि कार्यान्वयन हुने विश्वासका साथ अव्यवस्थितरूपमा रहेको बसोबासलाई व्यवस्थित गर्ने लाग्छौं । आज जनप्रतिनिधि भएर आएपनि हिजो म एउटा एमालेको क्षेत्रीय सचिवमा रहेर यही क्षेत्रमा काम गरिरहेको थिएँ, अहिले वडाध्यक्ष भएर काम गरिरहेको छु । पहिले मैले फराकिलो क्षेत्रमा गर्थें भने अहिले यही सेरोफेरो, पेरीफेरीमा काम गरिहेको छु । मसँग धेरै लामो अनुभव छ ।

७. वडा कार्यालयको आगामी योजना के छ ?
आगामी योजना भनेको पूर्वाधार विकासभित्र बाटो मर्मत, कालोपत्रे, विद्यार्थीहरुको शैक्षिकस्तर वृद्धि गर्ने, सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा राम्रो हुन्छ भन्ने विचारलाई परिवर्तन गरेर सरकारी विद्यालयमानै पढाइ हुन्छ भन्ने विचारको विकास गर्ने, विद्यार्थीको पढाइ स्तरवृद्धि गर्नुपर्छ भन्ने पहिलो मान्यता राखेको छु । बाटो निर्माण, पुल बनाएर मात्र विकास हुन्छ भन्ने मलाई लाग्दैन । जनताको जीवनस्तर वृद्धि गर्ने, जनचेतना वृद्धि गर्ने, शैक्षिक क्रियाकलाप गर्नेजस्ता विषयमा पनि काम गर्नेछु । भविष्यका कर्णधार बालबच्चालाई गुणस्तरीय शिक्षा प्रदान गरी कुलतमा फसेका बालबच्चालाई सभ्य बनाउँदै अगाडि बढ्नेछौं । यसलाई कार्यक्रमको रूपमा रूपान्तरण गरी हरेक विद्यालयमा गएर शिक्षकलाई राष्ट्रिय, राष्ट्रियताको विषयमा बोध गराउँदै विद्यार्थीलाई अध्यापन गराउन अनुरोध गरेको छु । विद्यार्थीलाई बाह्य ज्ञान पनि होस् भन्दै कार्यक्रम अगाडि बढाइएको छ ।

– प्रस्तुतिः डिल्ली शाही

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार