दैलेख जीप दुर्घटनामा वडाध्यक्षसहित ५ जना घाइते



दैलेख,२० चैत/  दैलेखको आठबीस नगरपालिका वडा नम्बर – ८ तिलेपाटाको पातलखोलामा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा वडा नम्बर – ९ का वडाध्यक्ष धनबहादुर सिजापतीलाई टाउको र अनुहारमा बढी चोट लागेको छ ।

राकमबजारबाट सिमेन्ट, कर्कटपातालगायतका निर्माण सामग्री लिएर छेपाडी जाँदै गरेको भे १ च २१४८ नम्बरको जीप सडकबाट करिब ५५ मिटर तल खसेको प्र्रहरी चौकी तिलेपाटाका प्रहरी हवल्दार खडक खत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा आठबीस नगरपालिका वडा नम्बर – ९ का वडाध्यक्ष धनबहादुर सिजापती, ९ कै बासिन्दा लालबहादुर बडुवाल, वडा नम्बर – ८ का सूर्यबहादुर सिजापती, नविन बडुवाल र गाडी चालक लालबहादुर कठायत घाइते हुनुभएको छ ।

घाइतेहरुलाई राकमबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै सुर्खेत लगिएको छ । वडाध्यक्ष सिजापतीलाई बढी चोट लागेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २० गते मंगलबार