6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

महिला जागरण मञ्चले गर्यो डस्टबिन वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २, २०७४  

यानबी साहु : कोहलपुर,२ चैत/  कोहलपुर दशविगाह क्षेत्रमा अव्यवस्थित रुपमा रहेको फोहोर संकलनका लागि त्यस क्षेत्रका सबै पसल अगाडि डस्टविन राखिएको छ ।

महिला जागरण मञ्च कोहलपुरले देउसी भैलोबाट संकलन गरेको रु १ लाख ३० हजार रकम लागतमा सो क्षेत्रका पसल अगाडि १ सय ६ वटा डस्टबिन राखिएको र आवश्यकताअनुसार अरु डस्टबिन थप गरिने मञ्चकी संयोजक मधु खड्काले जानकारी दिइन् ।

देउसी भैलोबाट संकलन गरेको रकमबाट केही रकम छुट्याएर आफूहरुले सामाजिक कार्यमा लगाएको संयोजक खड्काले बताइन् । उनले भनिन्–‘पछिल्लो समय देउसी भैलोबाट संकलित रकम अन्य संघ–संस्थाले भोज भत्तेर, पार्टी, भ्रमण लगायत विभिन्न मनोरञ्जनात्मक तथा अनावश्यक कार्यमा खर्च गर्ने गरेका छन् ।

तर हामीहरुले तेसो नगरी थोरै रकम भएपनि सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने मान्यताले यो रकमले यहाँका पसल अगाडि डस्टबिन राखेका हौं ।’ उनले थपिन् ‘कोहलपुरलाई सफा, सुन्दर, स्वच्छ र हरियाली कोहलपुर बनाउन कुराले मात्र होइन, व्यवहारमा पनि देखाउनु पर्छ । त्यसको लागि सबै भन्दा पहिले आफूबाट सुरुवात गर्न जरुरी छ ।’

आफूहरुले फोहोर संकलनका लागि दशविगाह क्षेत्रका पसल अगाडि १ सय ६ वटा डस्टबिनहरु राखिदिएको र ती डस्टबिनहरुमा संकलित फोहर व्यवस्थापनका नगरपालिकाले गाडीको व्यवस्था गरिदिनु पर्ने उनले बताइन् । साथै सही तरिकाले फोहोर व्यवस्थापन भए नभएको आफूहरुले अनुगमन गर्ने र फोहोर व्यवस्थापन नभएको पाइएमा कारवाही गरिने समेत यनले बताइन् ।

त्यस्तै दशविगाहको उत्तर गेटमा फेन्सी पसल गर्दै आएका कपडा व्यवसायी गणेश विश्वकर्माले पहिले पसलबाट निस्कने फोहोर साना साना कार्टुनमा राखेर व्यवस्थापन गर्नु पर्ने वाध्यता रहेको भएपनिअहिले डस्टबिन राखेदेखि सजिलो भएको बताए । ‘अहिले सबैले आफ्नो घर पसलबाट निस्केको फोहोर डस्टबिनमा फाल्ने गर्नुहुन्छ । पसल अगाडिको सडक पेटीहरु पनि सफा देखिन्छन्’ उनले भने ।

यस्तै अर्की होटल व्यवसायी शारदा कार्कीले पनि आफ्नो होटल अगाडि महिला जागरण मञ्चले डस्टबिन राखिदिएकाले फोहोर फाल्न सजिलो भएको बताइन् । ‘पहिले होटलबाट निस्केको फोहोर कहाँ फाल्ने, के गर्ने भन्ने चिन्ता हुन्थ्यो तर अहिले डस्टविन राखेदेखि सजिलो भएको छ’ उनले भनिन् ।

उनीहरु जस्तै दशविगाहकै कोल्ड स्टोर सञ्चालक दिर्घबहादुर बुढाक्षेत्रीले पनि डस्टविन राखिदिएदेखि फोहोर फाल्न सजिलो भएको बताए । साथै उनले महिला जागरण मञ्च यो कार्यको सराहना गर्दै धन्यवाद समेत दिएका थिए ।

पछिल्लो समय देउसी भैलोबाट संकलित रकम अन्य व्यक्ति तथा संघ–संस्थाहरुले भ्रमण, भोजभत्तेर, पार्टी लयागतका अनावश्यक तथा मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरेको भएपनि महिला जागरण मञ्च कोहलपुरको यो कार्यलाई उदाहरणिय कार्यका रुपमा लिन सकिन्छ ।

यसरी यस क्षेत्रका अन्य व्यक्ति, संघ–संस्थाले महिला जागरण मञ्चको सिखो गर्नसके सफा, स्वच्छ र हरियाली कोहलपुर बनाउनमा महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २, २०७४     7:03:13 AM  |