नेपालगञ्ज,२७ फागुन/ राज्य पक्षले द्वन्द पीडितको समस्यालाई संवेदनशिल रुपमा नहेरेसम्म जति समय थपे पनि आफ्ना समस्या समाधान नहुने पीडितहरुको भनाई रहेको छ ।
सत्य निरुपण तथा बेपत्ता आयोगको कार्यकाल एकवर्ष समय आफुहरुलाई नसाधि इच्छा विपरित थप गरिएको बारेमा नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले यस्तो बताएका हुन् ।
द्वन्द पीडितको अधिकारमा काम गर्दै आएका तथा स्वयं पीडित सुमन अधिकारीले आयोगले पीडितको लागि केही गरोस् भन्ने चाहना भएपनि सरोकारवाला व्यक्तिहरु पीडित केन्द्रित नभई दल केन्द्रित भएर आउने गरेको बताए ।
त्यस्तै आयोगको समय थप्नु भन्दा अगाडि आयोगले गरेका काम र थपिएको समयमा गरिने कामको योजना र लक्ष्यको जानकारी लिन खोज्दा जानकारी दिन आलटाल गर्ने गरेको बताए ।
राज्य पक्षले जिम्मेवार नभएर काम देखाउनको लागि अनुसन्धान विना नै मनोमानी ढङ्गले निर्णय गरेको समेत उनले बताए । त्यस्तै टि.जे.की अध्यक्ष चन्द्रकला उप्रतीले विगत तीन वर्षमा उजुरी लिएर थन्काएको अवस्थामा थप गरिएको एक वर्षको समयमा कसरी काम गर्ने र केही आशा गर्न नसकिने बताए ।
पीडितहरु कठिन अवस्थामा रहेकाले सामाजिक सुरक्षा भत्तामा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै विभिन्न संघसस्थाले आवाज उठाएपनि आवाज पुग्नु पर्ने ठाउँसम्म नपुगेको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्