8 September 2024  |   आइतवार, भदौ २३, २०८१

कोहलपुर क्षेत्रका मासु पसलको अनुगमन, प्राय मापदण्ड विपरित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४  

कोहलपुर,२३ फागुन/  कोहलपुर नगर क्षेत्रमा मापदण्ड विपरित मासु पसल सञ्चालन ल्याएको पाइएको छ । नगर क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलहरुले सरसफाई र मापदण्ड विपरित पशु पंक्षीको वध तथा विक्री वितरण गर्ने पाइएको हो ।

यस्तो मासुले मानव स्वास्थ्यमा जोखिम बढेको कोहलपुर नगरपालिका उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले बताइन् । मंगलबार चौधरीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा आएको र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिरहेको पाइएको हो ।

मंगलबार मदनचौक क्षेत्र, दशविगाह क्षेत्र र हवलल्दारपुर क्षेत्रमा गरिएको अनुगमनका क्रममा उपभोक्ताहरुको स्वास्थ्यमा सञ्चालनमा आएका मासु पसलहरुले गम्भिर खेलवाड गरिरहेको पाइएकाले तत्काल कानुनी दायरामा ल्याउने उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक चौधरीले बताइन् ।

विशेष गरी दश विगाह क्षेत्रमा रहेका राँगाको मासु विक्री गर्ने व्यवसायीहरुले कुनै पनि मापदण्ड पुरा नगरेको र दुर्ग्न्धित र फोहरकाबीचमा मासुको विक्री वितरण गरिरहेको अनुगमनका क्रममा भेटिएको अनुगमन टोलीले बताएको छ । सात दिनभित्र मापदण्ड पुरा नगरे यस्ता व्यवसायीहरुको व्यवसाय नै शील गरिने अनुगमन टोलीका सदस्य एवम् नगर कार्यपालिका सदस्य डिल बहादुर परियारले जनाए ।

यस्तै हवल्दारपुर क्षेत्रमा सडकको किनारमा सञ्चालित फ्रेस हाउसहरु पनि कारवाहीको दायरामा पर्ने अनुगमन समितिले जनाएको छ । यस क्षेत्रमा पनि कुनै पनि मासु व्यवसायीले मापदण्ड पुरा नगरेको र दुर्गन्ध र फोहरकाबीचमा मासुको विक्री वितरण गरिरहेकाले तत्काल मापदण्ड सहित व्यवसाय सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । समितिले मंगलबार दुग्धजन्य वस्तुको विक्री वितरण हुने दुग्ध डेरी तथा पशु वध गर्ने स्थान र मासु विक्री वितरण गर्ने पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा कोहलपुर नगरपालिकाका, इलाका प्रशासन कार्यालय कोहलपुर, नगरपालिकास्तरीय पशु सेवा कार्यालय, इलाका प्रहरी कार्यालयका प्रतिनिधीहरु र पत्रकार रहेका थिए । अनुगमनलाई निरन्तरता दिइने र अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा आउने जुन सुकै फर्म तथा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने बताइएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४     9:25:43 AM  |