सुर्खेत,१३ फागुन/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतका स्थानीय निकायका जनप्रतिनिधिलाई राजीनामा दिनको लागि पत्र पठाएको छ ।
जनपरिषद नेपाल भेरी कर्णाली स्वायत प्रदेश जिल्ला जन परिषदको कार्यालय सुर्खेतको लेडरप्याडमार्फत स्थानीय तहका केही जनप्रतिनिधि, वडा अध्यक्षहरुलाई तथा मेयरलाई राजिनामा पत्र आएको छ ।
जनप्रतिनिधिहरुले दुईचार दिन अगाडि आफूहरुलाई राजीनामा पत्र आएको बताएका छन् । राजीनामा पत्र दिएका व्यक्तिलाई भने नचिनेको उनीहरुले बताएका छन् । राजीनामा पत्रमा नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्तिको बाटोमा अघि बढ्ने दृढ सकंल्प गरेको र दलाल संसदीय पार्टी र सत्ताले प्रतिक्रान्तिकारी स्थानीय, संघ र प्रदेशको चुनाव लादे पनि आफ्नो पार्टीले खारेज गरेको पत्रमा उल्लेख गरिएको छ ।
‘संसदीय चुनावमा तपाइहरुलाई उम्मेदवार नहुन र खारेज अभियानमा आफ्नो पार्टीले अपिल गरेको थियो । यो अपिललाई उल्लघन गरेकोमा गम्भिर ध्यानाकर्षण भएको छ’ राजीनामा पत्रमा लेखिएको छ, ‘यति मात्र होइन कथित चुनावबाट विजयी भएपछि कमिसन खोर भ्रष्टाचार, जनताको ढाड सेक्ने गरी कर असुलीमा लाग्नु भएको बुझिन्छ ।’
महान क्रान्तिमा मुठ्ठीभर दलालबाहेक विभिन्न क्षेत्रमा रहेका देशभक्त मध्यम वर्ग, राष्ट्रिय पूजिपति वर्ग, किसान मजदुरसहित परिर्वतनकारी र मुक्तिकामी जनसमुदायको साथ र सहयोग रहेको पनि बताईएको छ । पत्रमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, बाबुरामले आत्मसमर्पणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका एस्पी उमाप्रसाद चर्तुवेदीले पत्रको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । ‘एक जना जनप्रतिनिधिले पत्र दिनुभएको थियो । पत्रमा व्यक्तिको नाम उल्लेख नगरेर हस्ताक्षर मात्र गरिएको छ’ उहाँले भन्नुभयो, ‘यसको बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’
-ujyaaloonline.com