थ्रीस्टार सिमरा गोल्डकपको फाइनलमा प्रवेश



बारा,२ फागुन/  थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।

थ्रीस्टारको जितमा सुनील बलले दुई तथा विष्णु गुरुङ र अनन्त तामाङले एक/एक गोल गरे ।

सुनीलले खेलको ३५औं र ४९औं मिनेटमा एक/एक गोल गरेका हुन् भने गुरुङले २४औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । यस्तै, तामाङले खेलको ७७औं मिनेटमा गोल गरे ।

मोरङका कर्ण लिम्बूले खेलको ८१औं र ८४औं मिनेटमा गरी दुई गोल गरेपनि टिमको हार टार्न सकेनन् ।

खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका सुनील घोषित भए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार त्रिभुवन आर्मी र वीरगन्ज युनाइटेड क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २ गते बुधबार