कोहलपुर,२८ माघ/ कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कूल नीजि क्षेत्रबाट सञ्चालन भएका ५ नम्बर प्रदेश भरीका नीजि विद्यालयहरुमा उत्कृष्ठ भई पुरस्कृत भएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले अघिल्ला तीन वर्षहरुको परीक्षामा प्राप्त नतिजा विश्लेषण,परीक्षामा सहभागी विद्यार्थीहरुको संख्या र विद्यालयमा तह अनुसार गराइएका अध्यापनका विषयका आधारहरुको मूल्याङ्कन गरी मन्त्रालयले छनौट गर्दा गोरखा युनाइटेड पब्लिक स्कूल कोहलपुर ५ नम्बर प्रदेशको नीजि विद्यालयतर्फ उत्कृष्ठ भएको हो ।
गत भदौ २३ गते शिक्षा दिवसका दिन पुरस्कृत गरिने कार्यक्रम विविध कारणले त्यतिबेला स्थगित भएको थियो । सो पुरस्कार वितरण कार्यक्रम यही माघ २८ गते आइतबार भएको हो ।
पुरस्कारमा स्कूलले शिल्ड,प्रमाणपत्र र रु १ लाख नगद प्राप्त गरेको छ । देशका करिब ३० हजार सामुदायिक र करिब ७ हजार निजी विद्यालयमध्ये २० विद्यालय छानिएका हुन् । मन्त्रालयका अनुसार सामुदायिकतर्फ ११ र निजीतर्फ ९ विद्यालयलाई छनोट गरिएको थियो । कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा यो छनौट गरिने मन्त्रालयले जनाएको छ ।
५ नम्बर प्रदेशबाट गोरखा युनाइटेड मात्र छनौटमा पर्न सफल भएको छ । पुरस्कार ग्रहण पश्चात स्कूलका संस्थापक सञ्चालक केशर बहादुर आलेले खुशी व्यक्त गर्दै भने , ‘ ‘विद्यालयले गरेको मिहिनेत अनुसार प्रतिफल पाउँदा खुसी लागेको छ ।
यसको श्रेय सम्पूर्ण स्कूलमा मिहिनेतपूर्वक अध्यापन गराउने शिक्षक÷शिक्षिकाहरु , मेरा इमानदार सहयोगी सहकर्मी मित्रहरु, आफ्ना नानी बाबुहरको राम्रो रेखदेख गरिरहने अभिभावक ज्यूहरु , मिहिनेती विद्यार्थी भाइबहिनीहरु र शुभचिन्तक सबैलाई दिन चाहन्छ ु।’ सबैको मिहिनेत र सहकार्यले नै हामीले यो सफलता प्राप्त गरेका हौं ।’









प्रतिक्रिया दिनुहोस्