बाँकेमा विवेकशील साझाका उम्मेदवारले खर्च विवरण बुझाएनन्



नेपालगञ्ज,२१ माघ/  बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाए पनि केही उम्मेदवारले अझैसम्म खर्च विवरण बुझाएका छैनन् । प्रमुख दलहरुले खर्च विवरण बुझाए पनि साना दलका उम्मेदवारले अझसम्म खर्च विवरण बुझाएका छैनन् ।

एक सय तीन जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारले अहिलेसम्म पनि खर्च विवरण बुझाएका छैनन् । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका ५ जना र प्रदेशसभामा उम्मेदवारी दिनुभएका ७ जनाले अहिलेसम्म पनि खर्च विवरण बुझाएका छैनन् ।

चुनाव परिणाम सार्वजनिक भएको ३५ दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार माघ ५ गते चुनाव परिणाम सार्वजनिक भएको ३५ दिन पुगेपछि अहिलेसम्म पनि खर्च विवरण नुबझाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । खर्च विवरण नबुझाउनेमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीका उम्मेदवारसमेत रहेका छन् । विवेकशील साझाले सुशासन र पारदर्शिताको वकालत गर्दै आएको छ

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर –१ बाट एकिकृत राप्रपा राष्ट्रवादीका पंकजकुमार शर्मा र देशभक्त गणतान्त्रिक मोर्चाका नन्कु गोडिया, क्षेत्र नम्बर –२ बाट विवेकशील साझाका नगेन्द्र कुँवर र देशभक्तका मदनसिंह अधिकारी, क्षेत्र नम्बर –३ बाट देशभक्तका मुकुन्दसिंह वलीले खर्च विवरण बुझाएका छैनन् ।

यसैगरी प्रदेशसभा १(क)बाट संघीय समाजवादी फोरमका प्रमोद यादव, देशभक्तका प्रेमबहादुर थापा (क्षेत्री) र नन्कु गोडियाले चुनावमा गरेको खर्च विवरण बुझाएका छैनन् ।

यसैगरी प्रदेशसभा २(ख)बाट देशभक्तका ठाकुर काफ्ले र प्रदेशसभा ३(ख)बाट स्वतन्त्र जकिर खाँ, नेकपा माक्र्सवादीका नन्कौं खाँ पठान र देशभक्तका बुधे बुढाले खर्च विवरण बुझाउन बाँकी रहेको छ । बाँकेमा प्रतिनिधिसभा चुनावमा ३५ र प्रदेशसभा चुनावमा ६८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार