होमस्टेमा पाहुना बढेपछि जैविक खेती तर्फ किसानहरु आर्कर्षित



यम घिमिरे : बर्दिया, ४ माघ/   बर्दियाकाको बारबर्दिया नगरपालिका – ९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसानहरु जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् ।

सातवटा खोलाहरु मिलेर बनेको सतखलुवा ताल,वन्यजन्तु , चराचुरुंगी ,बर्दिया राष्टिय निकुञ्ज हेर्न आउदा होमस्टेमा वास बस्न आउने पर्यटकको संख्या दिनानु–दिन बढेपछि आफ्ना उत्पादनहरु सजिलै बिक्री हुन थालेपछि त्यहाँका स्थानयि किसानहरु जैविक खेती तर्फ आर्कर्षित भएका भएका हुन् ।

सतखलुवा होमस्टे आर्गेनिक कृषि समुहकी अध्यक्ष १७ वर्षीया बिमला पाण्डेले होमस्टेमा पाहुना बढेसँगै आफूहरुलाई आम्दानीको बाटो खुलेको बताइन् । अध्यक्ष पाण्डेका अनुसार केराउ, भटमास, धनियाँ, काउली, बन्दा, आलु, काँक्रोस ,भिन्डी, बैगन, करेला, प्याज, टमाटर, गाजर, मुला, पालुङ्गोस हरियो सलाद, लसुन आर्टिचोक, अन्तरकोबी, ब्रोकाउली, लगायतका तरकारी बालीहरु जैविक खेतीबाट उत्पादन गरिने छ ।

बाँकेको नेपालगञ्जबाट एक घण्टा, बर्दियाको सदुरमुकाम गुलरिया र बाँकेकै कोहलपुर चौराहबाट आधा घण्टाको मोटर यात्राबाट सजिलै पुग्न सकिने अनि पूर्व –पश्चिम राजमार्गको बैदीचोकबाट ५ किलोमिटर उत्तरमा सतखलुवा होमस्टेमा बस्न आउने पाहुनाहरुलाई खुवाउने लक्ष्यका साथ स्थानीय कृषकहरुले जैविक प्रविधिबाट तरकारी खेती गर्ने लक्ष्य लिएको देखेर बारबर्दिया नगरपालिकाले उनीहरुलाई आवश्यक तालिम र उत्पादन सामाग्री समेत प्रदान गरेको हो ।

पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्दै सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादन गर्ने लक्ष्यका लिएका खैरेनीगाउँका कृषकहरुको मांगलाई ध्यान दिदै बारबर्दिया नगरपालिकाकाले उनीहरुलाई तालिम, प्राविधिक सहयोग र उत्पादन सामाग्री समेत प्रदान गरेको छ ।

बारबर्दिया नगरपालिकाको आर्थिक विकास शाखाले स्वरोजगार कार्यक्रम अन्तरगत बारबर्दिया –९ खैरेनी होमस्टे गाउँका २४ जना किसानहरुलाई जैविक तरकारी खेती प्रविधि सम्बन्धी ३ दिने तालिम प्रदान गरी १० जना किसानलाई टनेल बनाउन प्लास्टिक,बीउ,ड्रम र हजारी समेत वितरण गरिएको नगर प्रवक्ता दुर्गाबहादुर बि.क.ले बताए ।

बारबर्दिया नगरपालिका कृषि शाखाका प्रमुख जयबहादुर महताराले जैविक खेतीे जमिन, पर्यावरण चक्र र मानिसहरूको स्वास्थ्यमा दिगोपना कायम राख्ने उत्पादन पद्धति रहेको बताउदै यो खेती पर्यावरणीय प्रक्रिया, जैविक विविधता र स्थानीय परिवेशसँग अनुकूलित चक्रमा निर्भर रहने बताए ।

उनले जैविक खेती पद्धतिमा वातावरणीय सन्तुलन, पारस्परिक सुमधुर सम्बन्धको विकास तथा सम्बद्ध सबैको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले परम्परा, नवीनता, र वैज्ञानिक आविष्कारहरूलाई समाहित गरिने बताए ।

जैविक खेती अन्तर्गत कृषिजन्य उत्पादनका लागि परिणाममा जमिनको उर्वराशक्तिमा ह्रास ल्याउने रासायनिक मल तथा कीटनाशक विषादीहरूको प्रयोग गर्नुको साटो प्राकृतिक साधनहरूकै प्रयोग गर्ने गरिन्छ । अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दा प्रारम्भमा उत्पादन पनि बढी नै हुन्छ तर समयक्रमसँगै जमिनको उर्वरा शक्ति घट्दै जाने र अन्तत केही पनि नउब्जने स्थिति आउँछ ।

जैविक खेतीले सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादनमा सहयोग गर्नुका साथै पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्न मदत गर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार