नेपालगञ्ज/ बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरकी सरस्वती पासीलाई भान्सामा नुन तेल सकिने वित्तिकै तनाव सुरु हुन्थ्यो । आफूसँग खर्च नहुँदा भान्सामा तेलको पूर्ति गर्न श्रीमान कामबाट साँझ फर्कने बेलासम्म पर्खनुपथ्र्यो । श्रीमानले पैसा दिए मात्रै सरस्वतीको भान्सामा खाना पाक्थ्यो ।
उनी मात्रै होइन उढरापुरका सबै महिलाहरूको अवस्था यस्तै थियो । सानो–सानो खर्चका लागि पनि श्रीमानसँगै हात थाप्नुपर्ने बाध्यता थियो । तर महिलाहरूले सधैंको यस्तो बाध्यतालाई चिर्न र आर्थिक उपार्जनमा आफ्नो सहभागिता जनाउन विकल्प रोजेका छन् ।
समूहमा आवद्ध भएपछि आर्थिक उपार्जनका लागि घरमा पालेका बाख्रा देखाउँदै हसिनापुरकी विन्दुकुमारी सुनार । तस्विरः गोविन्द देवकोटा
घरमै पालेका बाख्राबाट राम्रो आम्दानी हुन थालेपछि महिलाहरूले हाल श्रीमानसँग हात थाप्न समेत छोडेका छन् । उनीहरूले अहिले खुलेरै आवश्यकता अनुसार खर्च गर्न सक्ने समेत भएका छन् । ‘भान्साको कुरा मात्रै होइन अरु आवश्यकताका लागि पनि श्रीमान नै गुहार्नुपर्ने अवस्था थियो’ पासीले भनिन्, ‘श्रीमानले दिएको रकम पनि खुम्चिएर खर्च गर्नुपथ्र्यो । तर अहिले बाख्रा पाल्न सुरु गरेदेखि त्यो अवस्थाको अन्त्य भएको छ ।’ आवश्यकता अनुसार घर खर्च चलाउन श्रीमानको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको र बाख्रा बेचेर आएको पैसाले नै आवश्यकता पूर्ति गर्न सहज भएको पासीले बताईन् ।
सरस्वती मात्रै होइनन्, अहिले उढरापुरका अधिकांश महिलाहरू पशुपालन गरेर आर्थिक उपार्जनमा सहभागी भएका छन् । अधिकांश दलित वस्ती रहेको त्यस क्षेत्रका महिलाहरू बाख्रापालनमा आकर्षित भएका छन् । वर्षमा दुई वटा बाख्रा बिक्री गरेरै १५ देखि २० हजारसम्मको आम्दानी हुने भएपछि महिलाहरूले पैसा कमाउने सजिलो माध्यमका रुपमा बाख्रा पालनलाई रोजेका छन् । ‘श्रीमान विदेशमा हुनुहुन्छ, पहिला विदेशबाट पैसा नआएसम्म यहाँ खर्च धान्न मुस्किल हुन्थ्यो,’ उढरापुरकै सुन्तली पासीले भनिन्, ‘अहिले आवश्यकता परेको बेला बाख्रा विक्री गरी जम्मा गरेको पैसाले खर्च चलाउछु, श्रीमानको पैसा बचत हुने गरेको छ ।’ उनीहरूले बाख्रा बिक्री गरी कमाएको रकम घर खर्च मात्रै होइन, लत्ताकपडा किन्न र छोराछोरीको पढाईमा समेत लगानी गरेका छन् ।
अशिक्षा र गरिबीका कारण निम्न जीवनस्तर बिताइरहेका दलित महिलाहरूले आयआर्जनसँगै समस्या समाधान गर्ने समूह समेत निर्माण गरेका छन् । समूहमा बसेर समस्यामाथि छलफल र आयआर्जनका विकल्पहरूको विषयमा छलफल समेत हुने गरेको मुन्नी पासीले बताईन् ।
हाल ६ वटा बाख्रा पालेकी ६१ वर्षीया मुन्निले भनिन्, ‘पहिला हामीलाई निकै समस्या थियो, श्रीमानले कमाएको आधा रकम जाँड खाएरै फाल्थे । आफूलाई घरमा आवश्यक पर्दा रकम नहुँदा साह्रै गाह्रो पथ्र्यो । तर बाख्रा पालेदेखि सजिलो भएको छ, त्यति धेरै दुःख पनि छैन । वर्षमा तीन\चार वटा बाख्रा बिक्री गर्नसके आवश्यकता पुरा गर्न कुनै कठिनाइ छैन ।’ त्यहाँका प्रत्येक परिवारमा महिलाहरूले बाख्रा पालन गरेका छन् ।
गैरसरकारी संस्थाले महिलाहरूको आयआर्जनमा बृद्धि गरि जीवनयापनमा सहज बनाउने उद्देश्यले बाख्रा उपलब्ध गराएपछि दलित महिलाहरूको दैनिकी सुधारिएको हो ।
आफूहरू समूहमा बसेर छलफल गर्न सुरुवात गरेदेखि दैनिकीमा परिवर्तन आएको बैजनाथ गाउँपालिका–८ बेलडाँडी हसिनापुरकी बिन्दुकुमारी सुनारले बताईन् ।
उनले दलित महिला संघमार्फत बाख्रा उपलब्ध भएसँगै आर्थिक उपार्जनमा आफूहरूको सक्रियता बढेको दाबी गरिन् । ‘घर परिवारमै पनि आफु अन्यायमा पर्दा चुक्क बोल्न नसक्ने दलित समुदायका महिलाहरू अहिले भने आफ्नो हक अधिकारको बारे निर्धक्क बोल्न मात्र होईन अरुको अधिकारको लागि समेत वकालत गर्न सक्ने भएका छन् ।
बाँकेको ग्रामिण क्षेत्रमा विभिन्न दलित महिला समूह निर्माण गरि उनीहरूको आयआर्जन बृद्धिका लागि सहयोग गरिएको छ । प्रति महिला परिवारलाई दुई वटा बाख्रा वितरण गर्नुका साथै उनीहरूको समस्या समाधान गर्ने थलोका रुपमा समूह निर्माण गरिएको दलित महिला संघ बाँके (फेडो) की अध्यक्ष निर्मला सुनारले जानकारी दिइन् ।
Mahila Khabar.









प्रतिक्रिया दिनुहोस्