साना गाडीलाई केरुङ प्रवेशमा रोक



रसुवागढी नाका। विदुर : नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाबाट चीनको केरुङ प्रवेशमा साना गाडी तथा दुई पांग्रे सवारीमा रोक लगाइएको छ । एक महिनादेखि चिनियाँ पक्षले रसुवागढीदेखि २४ किलोमिटर दूरीमा रहेको केरुङतर्फ साना सवारी तथा मोटरसाइकल लैजान रोक लगाएको प्रहरीले जनाएको छ ।
काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट नेपालका साना तथा मोटरसाइकल यातायात प्रवेशमा बन्द गरिएको र हाल कन्टेनर मात्र आवत्जावत भइरहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जन दाहालले जानकारी दिए । उनका अनुसार चिनियाँ पक्षले रसुवागढीदेखि केरुङसम्म यात्रा गर्नका लागि ट्याक्सी सेवा सञ्चालन गरेसँगै नेपालका साना सवारी तथा मोटरसाइकल प्रवेशमा रोक लगाइएको हो ।
रसुवागढीबाट केरुङतर्फ दैनिक २० थान मोटरसाइकल र १० थान साना यातायातका साधन आवत्जावत गर्दै आएका थिए । रसुवागढीबाट हाल दैनिक रूपमा ७० थान कन्टेनर आउने र ८० थान कन्टेनर केरुङ सामान बोक्न जाने गरेको टिमुरे प्रहरीको भनाइ छ ।
चीनबाट नेपालतर्फ सुन तस्करी गर्ने गिरोह सक्रिय भएको जनाउँदै चिनियाँ पक्षले नेपाली साना सवारी सञ्चालनमा रोक लगाएको जनाइएको छ । साना सवारीमा फल्स बटम बनाएर ल्याउने क्रम बढ्दै जाँदा चिनियाँ पक्षले एक महिनादेखि साना गाडी सञ्चालन रोकेको हो ।
रसुवागढी नाका चिनियाँ पक्षले गत सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरिसकेको छ भने सो नाका अढाई वर्षदेखि आधिकारिक रूपमा सञ्चालन भएको हो । सिन्धुपाल्चोकको तातोपानी नाका पहिरो तथा भूकम्पका कारण बन्द भएपछि रसुवागढी नाकाबाट नेपाल-चीन सामान आयातनिर्यात हुँदै आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भने साना गाडी तथा मोटरसाइकल केरुङतर्फ सञ्चालन रोकिएकोबारे आफूलाई आधिकारिक जानकारी नभएको बताए । उनले अगाडि भने, ‘सवारी सञ्चालन रोकिएकोबारे हामीलाई आधिकारिक जानकारी आएको छैन, रोकिएको भए जानकारी आउनुपर्ने हो ।’
चीनको केरूङ जान नेपाली सवारी रोकिए पनि चिनियाँ ट्याक्सीमार्फत रसुवाबासी केरुङ गइरहेका छन् । सीमा सुरक्षामा खटिएको प्रहरीको अनुरोधमा केही सवारीसाधनले प्रवेश पाए पनि साना सवारी तथा मोटरसाइकल सञ्चालन रोकिएको नेपाल प्रहरीको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।
चीनतर्फ बाटो मर्मतको काम भइरहेकाले सामग्री बोकेका कन्टेनरलाई मात्र प्रवेश दिन थालेपछि भन्सार यार्डमा कन्टेनर थुप्रन सुरु गरेको छ । केही महिनादेखि रसुवागढी भन्सार यार्डमा कन्टेनर रोकिएको भए पनि अहिले रोकिएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार