मिसन सामाचारदाता कोहलपुर, १४ पुस / खजुरा गाउँपालिका–२, सीतापुरमा जारी दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता अन्तरगत विहिवार चार खेल भएका छन् । विहिवार भएको महिलातर्फको ८ सय मिटर दौडमा मध्यमाञ्चलकी काजल विष्टले २ मिनेट ३९ सेकेन्ड ३ पल्समा निर्धारित दुरी पार गरी प्रथम भइन् । भने, सुदुरपश्चिमाञ्चलकी अनिता भुल २ मिनेट ४० सेकेन्ड ३ पल्समा दुरी पार गरी दोस्रो र मध्यपश्चिमाञ्चलकी सुष्मा सिंह तेस्रो भइन् । सिंहले २ मिनेट ४० सेकेन्ड ७ पल्समा दुरी पार गरेको प्रतियोगिता सचिवालयका संयोजक यम नारायण महतोले जानकारी दिए ।
पुरुषतर्फको आठ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी प्रथम भए । उनले २ मिनेट १० सेकेन्ड ३ पल्समा दुरी पार गरे । त्यसैगरी उक्त खेलमा मध्यमाञ्चलका सुभाष थापा दोस्रो र पश्चिमाञ्चलका रोहित अधिकारी तेस्रो भए ।
दुरी पार गर्न थापाले २ मिनेट १० सेकेन्ड ५ पल्स लगाउँदा अधिकारीले २ मिनेट ११ सेकेन्ड १ पल्समा दुरी पार गरे । पुरुष शटपुटतर्फ मध्यपश्चिमका लक्ष्मण चुनारा प्रथम, पश्चिमाञ्चलका पवन विक दोस्रो र पूर्वाञ्चलका सुभाष तामाङ तेस्रो भए । चुनाराले १० दशमलव ५१ मिटर टाढा थ्रो गरेका थिए भने विकले १० दशमलव ४६ र तामाङले १० दशमलव ४२ मिटर थ्रो गरेको बाँके जिल्ला एथलेटिक्स संघले जनाएको छ ।
महिला तर्फको २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी प्रथम, पूर्वाञ्चलकी नेहा चौधरी दोस्रो र पश्चिमाञ्चलकी नेहा श्रेष्ठ तृतीय भइन् । प्रथम भएकी थारुले २८ दशमलव ४२ सेकेन्डमा दुरी पार गर्दा चौधरीले २९ दशमलव ३९ सेकेन्ड र श्रेष्ठले २९ दशमलव ५५ सेकेन्डमा दुरी पार गरिन् ।
त्यसैगरी, विहीवार भएको पुरुषतर्फको २ सय मिटर दौडमा पश्चिमाञ्चलका प्रकाश रानामगरले निर्धारित दुरी २४ दशमलव २८ सेकेन्डमा पार गरी प्रथम भए । उनीसँगै प्रतिष्पर्धा गरेका मध्यपश्चिमाञ्चलका विवश थारु दोस्रो र मध्यमाञ्चलका आशिष खत्री तृतीय भए । थारुले २४ दशमलव ५० सेकेन्डमा दुरी पार गर्दा तृतीय भएका खत्रीले २४ दशमलव ६० सेकेन्ड लगाए ।
महिला लङजम्पतर्फ मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम भएकी छन् । उनले ४ दशमलव ७० मिटर थ्रो गरिन् । भने दोस्रो भएकी मध्यपश्चिमकै प्रमिला थारुले ४ दशमलव ६५ मिटर र तेस्रो भएकी मध्यमाञ्चलकी संगिता दासले ३ दशमलव ९७ मिटर टाढा थ्रो गरिन् ।
प्रकाशित मिति : २०७४ पुस १४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्