नेपाल सिएमए संघको अधिवेशन सम्पन्न



मिसन समाचारदाता ११ पुस / नेपाल सिएमए संघ बाँकेको तेस्रो अधिवेशन सोमबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मण राज शाहीको नेतृत्वमा ११ सदस्यी नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा उपाध्यक्ष पवन कुमार वर्मा, सचिव साहवुद्धिन खाँ, स–सचिव नोखै चौधरी र कोषाध्यक्षमा चुडामणी डि.सी. रहेका छन् ।
त्यस्तै सदस्यहरुमा नेप बहादुर भण्डारी ,राम बिर शाही, विजय त्रिपाठी, नरेन्द्र राज शर्मा र वनवारीलाल शर्मा रहेका छन् ।
बाँके जिल्ला भरी रहेका करिब ५ सय सिएमएहरुले आफना पेशागत समस्याहरुलाई सरोकारवाला निकाय सँग बहस र छलफलबाट समाधान गर्न सर्वसम्मत नेतृत्व चयन गरेको नवनिर्वाचित अभ्यक्ष शाहीले बताए ।
वि.स. २०६० सालमा सिएमएहरुको पेशागत हक अधिकारको सम्रक्षण गर्न तथा उनीहरुको सेवा र निवृत्तिमा समयानुकुल परिमार्जन गर्न सरकारसँग माग राख्न आधिकारिक संगठनको महसुस गरी यो संघ स्थापना गरिएको निर्वमान अध्यक्ष रण बहादुर वलीले बताए ।
अधिवेशनको उद्घाटन गर्दै सिएमए संघ नेपालका केन्द्रीय अध्यक्ष गयोश साउदले नेपालको ग्रामीण स्वास्थ्य संस्थाहरुमा निम्न र आधारभूत तहका गरिब जनताको स्वास्थ्यको अवस्थाको बारेमा प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले समेत नचिन्ने पीडाको बीचबाट आफूहरुले गाउँका गरिब जनताको स्वास्थ्य सेवा गरिरहेको स्पष्ट पारे ।
साउदले भने, ‘हामीलाई नेपाल सरकारले स्वास्थ्य परिषदको सदस्य बन्ने अधिकारबाट समेत बन्चित गराएकोमा चित्त दुखेको छ’ । अझै पनि ग्रामीण वस्तीहरुमा गुणस्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय औषधी वितरण गर्न नसकिएको यथार्थलाई सबैभन्दा बढी कसैले बुझेको छ भने त्यो सिएमएहरुले नै बुझेको साउदको दावी छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार